
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक साताको अवधिमा राजनीतिक इतिहास र समसामयिक लोकतान्त्रिक अभ्याससँग जोडिएका दुई पुस्तक सार्वजनिक गरेका छन् । पहिलो पुस्तक बीपी र विद्रोहका तीन दिन हो भने दोस्रो दोलखाका लोकनायकहरू हो । दुवै पुस्तकका कार्यक्रममा थापाले इतिहासबाट सिक्दै लोकतान्त्रिक संस्कार र राजनीतिक जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।
इलामका राजनीतिज्ञ तथा लेखक धर्म गौतमले लेखेको बीपी र विद्रोहका तीन दिन ले पञ्चायती व्यवस्थाविरुद्ध प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको एउटा महत्त्वपूर्ण कालखण्डलाई समेटेको छ । किताब पब्लिशर्सले प्रकाशन गरेको पुस्तकमा गौतमको व्यक्तिगत राजनीतिक यात्रा, बीपीसँगको निकटता तथा भारत निर्वासनका क्रममा भोगेका राजनीतिक र व्यक्तिगत अनुभव समेटिएका छन् ।
गौतम २०२९ सालमा भारत निर्वासनमा गएपछि बीपी कोइरालाको निकट सम्पर्कमा पुगेका थिए । पञ्चायतविरुद्धको सशस्त्र संघर्षमा सहभागी भएका उनी भारतको पूर्णियामा हातहतियारसहित पक्राउसमेत परेका थिए । बीपीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने निर्णय गर्नुअघि आफ्ना विश्वासपात्रमध्ये गौतमसहित तीन जनालाई नेपाल पठाएका थिए । स्वदेश फर्किएलगत्तै गौतम तत्कालीन पञ्चायती सत्ताबाट पक्राउ परे र करिब चार वर्ष जेल जीवन बिताए ।
पुस्तकमा बीपीको सशस्त्र संघर्ष, भारतमा भूमिगत जीवन, प्रजातन्त्रका लागि भएका प्रयास तथा २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णयसम्मका घटनालाई लेखकले आफ्ना स्मरणमार्फत प्रस्तुत गरेका छन् । बंगलादेशको उदय र सिक्किमको भारतमा विलयजस्ता तत्कालीन भूराजनीतिक घटनाले बीपीको राजनीतिक सोचमा पारेको प्रभावका प्रसंगसमेत पुस्तकमा समेटिएको बताइएको छ ।
पुस्तक विमोचनमा गौतमले नयाँ पुस्तालाई प्रजातान्त्रिक आन्दोलनका कठिन दिन र बीपी कोइरालाको वास्तविक व्यक्तित्वबारे जानकारी गराउने उद्देश्यले आफ्ना अनुभवलाई पुस्तकको रूप दिएको बताए । उनका अनुसार उच्चस्तरका राजनेता भएर पनि बीपीको जीवनशैली सरल थियो र उनी कार्यकर्ताप्रति अभिभावकीय व्यवहार गर्थे ।
पुस्तक विमोचन कार्यक्रममा कांग्रेस सभापति थापासँगै वरिष्ठ पत्रकार तथा लेखक हरिहर विरही, राजनीतिशास्त्री सुचेता प्याकुरेल र युवा राजनीतिज्ञ उषाकिरण तिम्सिनाको पनि सहभागिता थियो ।
पुस्तक विमोचनका क्रममा सभापति थापाले बीपी कोइरालाको विचार र सिद्धान्तलाई केवल सत्ता प्राप्त गर्ने राजनीतिक रणनीतिका रूपमा बुझ्न नहुने बताए । राष्ट्रिय मेलमिलापको नीति तत्कालीन भूराजनीतिक परिस्थिति र नेपालको राष्ट्रियतासँग जोडिएको निर्णय भएको उनको भनाइ थियो ।
थापाले बीपीलाई केवल पूजाको पात्र बनाउनेभन्दा उनको सादगी, राजनीतिक निष्ठा र विचारलाई व्यवहारमा पछ्याउनुपर्नेमा जोड दिए । कांग्रेसभित्र पद र शक्तिको प्रतिस्पर्धा देखिएको सन्दर्भमा धर्म गौतमको राजनीतिक निष्ठा र बीपीको राजनीतिक दर्शनबाट सिक्नुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले बीपी र विद्रोहका तीन दिन लाई केवल संस्मरण नभई नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरे । राजनीतिशास्त्री सुचेता प्याकुरेलले पुस्तकमा कांग्रेसको संगठनात्मक संस्कृति र बीपीको वैचारिक अडान देखिने उल्लेख गर्दै बीपीको समाजवाद आर्थिक वितरणमा मात्र सीमित नभई मानवीय मूल्य र लोकतान्त्रिक आचरणसँग जोडिएको धारणा राखिन् ।
यसै साता थापाले नन्दप्रसाद–जानुका फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दोलखाका लोकनायकहरू पुस्तक पनि विमोचन गरेका छन् । पुस्तकले दोलखाको राजनीतिक, सामाजिक तथा ऐतिहासिक परिवेशमा योगदान पुर्याएका व्यक्तित्व र लोकनायकहरूको योगदानलाई अभिलेख गर्ने प्रयास गरेको छ ।
पुस्तक विमोचन कार्यक्रममा थापाले इतिहासलाई केवल विगतको विवरणका रूपमा नभई वर्तमान राजनीतिक व्यवहार सुधार्ने आधारका रूपमा लिनुपर्ने धारणा राखे । उनले सरकार, संसद्, अदालत वा संवैधानिक निकायबाट हुने निर्णय कानुनसम्मत हुनु मात्र पर्याप्त नभई जनताको नजरमा समेत प्रमाणित र स्वीकार्य हुनुपर्ने बताए ।
उनका अनुसार राज्यका संस्थाहरूले गरेका निर्णयको औचित्य जनताले अनुभूति गर्न सक्ने हुनुपर्छ । राजनीतिक नेतृत्वले जनविश्वास कायम राख्न नसके संस्थागत निर्णयप्रतिको स्वीकार्यता कमजोर हुने उनको संकेत थियो ।
थापाले निर्वाचन जितेर संसद् प्रवेश गरेकै आधारमा आफूले जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ सांसदमा देखिन नहुने बताए । संसद्को शून्य समयमा बोल्न पाउने एक मिनेटसमेत गम्भीर तयारी, सचेतता र जिम्मेवारीका साथ प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
उनले विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपाले प्राप्त गरेको दुईतिहाइको राजनीतिक शक्ति जनअसन्तुष्टिका कारण कसरी कमजोर भयो भन्ने इतिहासबाट अहिलेका राजनीतिक दलले पाठ सिक्नुपर्ने बताए । नयाँ राजनीतिक दलले पनि पुराना दलका कमजोरी दोहोर्याउनुको साटो आफ्ना त्रुटि सच्याएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।
मुलुकले अब थप कुनै ‘राजनीतिक दुस्साहस’ थेग्न नसक्ने उल्लेख गर्दै थापाले आगामी पाँच वर्षलाई रचनात्मक, व्यवस्थित र जिम्मेवार ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए ।









Facebook Comments