नेपाली कांग्रेसको विशेष महाधिवेशनयता पार्टीभित्र सल्किएको आन्तरिक खिचातानी, वैधानिकतासम्बन्धी विवाद, सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुगेका मुद्दा-मामिला तथा गुटगत ध्रुवीकरणले नेपाली कांग्रेसलाई ठूलो अन्योलमा धकेलेको थियो । विशेषगरी संस्थापन पक्ष र इतर पक्षबीचको शक्ति संघर्षले आमकार्यकर्तामाझ ठूलो निराशा पैदा गरेको थियो । यसै जटिल र संवेदनशील मोडमा, पार्टीको केन्द्रीय कार्यालय सानेपाद्वारा घोषित १५औँ महाधिवेशनको प्रक्रिया वडा तहदेखि प्रारम्भ भइसकेको छ । विगतमा इतर पक्षमा रहेर दह्रो आवाज उठाउँदै आएकी, तर हाल पार्टीको आधिकारिकता, वैधानिकता र समग्र एकतालाई शिरोधार्य गर्दै निःसर्त रूपमा महाधिवेशनको मैदानमा होमिएकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यमहालक्ष्मी उपाध्याय ‘डिना’सँग देशान्तर साप्ताहिकका लागि पत्रकारमुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

 

ad

केन्द्रीय सदस्यज्यू, देशान्तरमा स्वागत छ । आफ्नै गृहजिल्ला मकवानपुरमा १५औँ महाधिवेशनको सरगर्मी र वडा तहका कार्यकर्ताको उत्साह कस्तो पाउनुभएको छ ?

धन्यवाद । देशान्तर साप्ताहिकमार्फत नेपाली कांग्रेसका लाखौँ निष्ठावान् कार्यकर्ता र आमपाठकसम्म मेरा विचारहरू पुर्‍याउने अवसर दिनुभएकोमा म आभार व्यक्त गर्दछु । अहिले म गृहजिल्ला मकवानपुरका विभिन्न वडाहरूमा पुगेर पार्टीका अग्रज, भ्रातृसंस्थाका साथीहरू र तल्लो तहका क्रियाशील सदस्यहरूसँग निरन्तर छलफलमा छु । महाधिवेशन भनेको कुनै पनि लोकतान्त्रिक राजनीतिक दलका लागि केवल नयाँ नेतृत्व चुन्ने कर्मकाण्ड मात्र होइन, यो त पार्टीको तल्लो तहको प्राणवायु (अक्सिजन) सञ्चार गर्ने र सांगठनिक धमनीहरूमा नयाँ रगत बगाउने महान् उत्सव हो । काठमाडौंको केन्द्रीय राजनीतिमा जतिसुकै वैचारिक मतभेद वा गुटगत खिचातानी देखिए पनि वडा तहका कार्यकर्तामा पार्टीप्रति अगाध प्रेम, निष्ठा र उत्साह छ । उहाँहरू पार्टी एकढिक्का भएको हेर्न चाहनुहुन्छ । वडा तहदेखि नै अधिवेशनको सरगर्मीले के देखाएको छ भने नेपाली कांग्रेसको जग अझै पनि गाउँ र बस्तीहरूमा उत्तिकै मजबुत छ । हामी यही जनउत्साहलाई शक्तिमा बदलेर वडा तहका अधिवेशनहरूलाई भव्य र सर्वसम्मत रूपमा सम्पन्न गराउने अभियानमा अहोरात्र खटिएका छौँ ।

 

तर, अधिवेशन हतारमा बोलाइएको र तयारी नपुगेको भन्ने  टिप्पणी पनि तल्लो तहमा सुनिएको छ नि ?

हेर्नुहोस्, अधिवेशन कहिल्यै पनि हतारको विषय हुँदैन । यो विधानले तोकेको र पार्टीको जीवन बचाउनका लागि अनिवार्य प्रक्रिया हो । अलि छोटो समयसीमाभित्र काम गर्नुपरेकाले साथीहरूलाई केही दौडधुप र चटारो पक्कै भएको छ, तर यो हतारो नकारात्मक होइन, सांगठनिक उत्साहको संकेत हो । देशभरका साथीहरू कसरी अधिवेशन सफल बनाउने र पार्टीलाई बलियो बनाउने भन्नेमा चिन्तित र क्रियाशील हुनुहुन्छ ।

पार्टीभित्र लामो समयदेखि चुलिएको आन्तरिक विवाद अन्ततः पार्टी विभाजनको सँघारमा पुगेको हो ? यो अवस्था कसरी आयो ?

यो अत्यन्तै गम्भीर र समीक्षात्मक प्रश्न हो । १४औँ महाधिवेशनपछि पार्टीभित्र उत्पन्न भएका कतिपय असमझदारी र असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाटै समाधान गर्नुपर्छ भनेर हामीले धेरै ठूलो मिहिनेत गर्‍यौँ । संस्थापन पक्ष र इतर पक्ष दुवैतर्फका नेतृत्वलाई एकै ठाउँमा राख्ने, सहमति खोज्ने र पाँचबुँदे, सातबुँदे वा आठबुँदे सहमति पत्रहरू तयार पारेर अघि बढ्ने धेरै कोसिसहरू भए ।

राजनीतिक दलका आन्तरिक विवाद, असन्तुष्टि र सांगठनिक जीवन्तताका कुराहरूलाई अदालतको कठघरा वा मुद्दा-मामिलामा मात्र सीमित गर्नु हुँदैन । राजनीति भनेको अदालतको इजलासबाट होइन, कार्यकर्ताको माझबाट र शीर्ष नेताहरूको राजनीतिक निर्णयबाट सञ्चालित हुने विषय हो ।

हामीले पटक-पटक बैठक गर्‍यौँ । हाम्रो स्पष्ट भनाइ के थियो भने-अदालतमा मुद्दा हालेर पार्टी चल्दैन । निःसर्त रूपमा देशभरि १५औँ नियमित महाधिवेशनको अभियानमा लागौँ । हिजो पनि हामीले नियमित महाधिवेशनकै आवाज उठाएका हौँ । बीचमा विशेष महाधिवेशन आए पनि, निर्वाचन आयोग र अदालतको वैधानिक मान्यता प्राप्त भइसकेपछि अब मुद्दा-मामिलामा अल्झिनुको कुनै औचित्य रहँदैन । तर, दुवै तर्फबाट निरन्तर दबाब दिँदै जाँदा वर्तमान पार्टी नेतृत्वले धेरै मागहरू सम्बोधन पनि गर्नुभयो । त्यसैले अहिले सिंगो पार्टी महाधिवेशनतर्फ उन्मुख भइसकेको छ ।

 

अदालतको फैसला नआउँदै अधिवेशनमा होमिनु कत्तिको व्यावहारिक र वैधानिक हुन्छ ?

म कानुन र न्यायपालिकाको सम्मान गर्ने व्यक्ति हुँ । नेपाली कांग्रेस त झन् सुरुदेखि नै स्वतन्त्र न्यायपालिका, कानुनी शासन र संवैधानिक सर्वोच्चताको पहरेदार पार्टी हो । तर, यहाँ राजनीतिक र कानुनी प्रक्रियाको भिन्नता बुझ्न आवश्यक छ । अदालतमा मुद्दा छ भन्दैमा पार्टीको सांगठनिक क्रियाकलाप, वैधानिक महाधिवेशन र कार्यकर्ताको राजनीतिक भविष्यलाई बर्सौंसम्म बन्धक बनाएर राख्न मिल्दैन । हिजोका दिनमा इतर पक्षका साथीहरूले अदालतमा मागेको स्टे अर्डर (अन्तरिम आदेश)लाई अदालतले नै ‘महाधिवेशन तोकिइसकेको र प्रक्रिया अघि बढेको हुनाले अन्तरिम आदेश दिनु परेन’ भनेर अस्वीकार गरिसकेको अवस्था छ । निर्वाचन आयोगले सम्पूर्ण विवरण अध्यावधिक गरेर आधिकारिकता पुष्टि गरिसकेको छ ।

दुई-तीन तहको राजनीतिक निर्णय भइसकेपछि पनि ‘हामी अदालतको निर्णय नआएसम्म घरमै बस्छौँ, अधिवेशन गर्दैनौँ’ भन्नु राजनीतिक पलायनताबाहेक केही होइन । अदालतले आफ्नो काम गर्छ, त्यसको निर्णयलाई हामी सधैँ शिरोधार्य गर्छौं । तर, अदालतलाई देखाएर पार्टी फुटाउने वा अधिवेशन रोक्ने बहाना बनाइनु हुँदैन ।

तपाईंहरू इतर समूह (चुनदेवी-इतर पक्ष)मा सक्रिय हुनुहुन्थ्यो । तर अहिले हतारमा अवसरको राजनीतिका लागि बाटो मोड्नुभयो, पुराना सहयात्रीलाई धोका दिनुभयो भन्ने आरोप छ नि ! यसबारे के भन्नुहुन्छ ?

(गम्भीर हुँदै) यो ‘अवसरको राजनीति’ भन्ने शब्द प्रयोग गर्नेहरूले मेरो राजनीतिक इतिहास र निष्ठालाई बुझेका छैनन् । सामाजिक सञ्जालमा वा कसैले कुण्ठावश के भन्छ, त्यसको पछि दौडिने छुट मलाई छैन । म सोध्न चाहन्छु-अवसर भनेको के हो ? म नेपाली कांग्रेसको ‘रुख’ चिह्न लिएर जनतामा गएकी हुँ । म नेपाली कांग्रेसको सांसद बनेकी हुँ, मन्त्री बनेकी हुँ र केन्द्रीय सदस्य बनेकी हुँ भने त्यो यही पार्टी र यही चिह्नका कारण हो । म कुनै व्यक्ति वा गुटको पछि लागेर सांसद वा मन्त्री बनेकी होइन, नेपाली कांग्रेसको निष्ठावान् कार्यकर्ता भएर बनेकी हुँ । हिजोका दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का ज्यूकोमा वा चुनदेवीमा बसेका बैठकहरूमा मैले जे बोलेकी थिएँ, आज पनि त्यही बोलिरहेकी छु । मेरा अडानहरू कहिल्यै बदलिएका छैनन् ।

मैले हरेक बैठकमा भनेकी थिएँ- ‘हामी सानेपा जानुपर्छ । सानेपा भनेको कुनै व्यक्ति विशेषको निजी सम्पत्ति होइन, यो सिंगो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय हो । पूर्वपदाधिकारी र केन्द्रीय सदस्यका रूपमा गगन थापालगायतको वर्तमान नेतृत्वले पनि हामीलाई स्वीकार गर्नुपर्छ र हामीले पनि पार्टीको मूल घरलाई स्वीकार गर्नुपर्छ ।’

हामीले गुट परिवर्तन गरेको होइन, आफ्नो मूल घरमा फर्किएको हो । म नेपाली कांग्रेसमा छु, सानेपामै छु । मलाई कसैले रिसको झोँकमा कता गयो भनेर आरोप लगाउँछ भने त्यसको कुनै अर्थ रहँदैन । म सही ठाउँमा छु ।

तर, पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाजस्ता शीर्ष नेता त आउनुभएन नि ? उहाँहरूले तपाईंहरूलाई अघि बढाएर आफू पछि हट्नुभएको हो कि तपाईंहरूले नै उहाँहरूलाई बाटोमै छाड्नुभएको हो ?

उहाँहरू आदरणीय नेताहरू हुनुहुन्छ । उहाँहरूले हामीलाई ‘जाऊ’ भनेर पठाउनुभएको पनि होइन र ‘नजाऊ’ भनेर रोक्नुभएको पनि होइन । हामी सबै वयस्क, राजनीतिक चेत भएका र आफ्नै निर्णय लिन सक्ने केन्द्रीय नेताहरू हौँ । उहाँहरू (पूर्णबहादुर जी, शेखर जी)ले मुद्दा अदालतमा विचाराधीन रहेकाले ‘नैतिकताका आधारमा हामी अहिल्यै जाँदैनौँ, तपाईंहरू आफ्नो विचार गर्नुस्’ भन्नुभयो । तर, हामीले के सोच्यौँ भने-नेताहरूले अदालतको मुद्दा पर्खनु उहाँहरूको व्यक्तिगत वा कानुनी बाध्यता होला, तर आमकार्यकर्ता र देशभरको सांगठनिक संरचनालाई पर्खाइमा राख्न मिल्दैन । हामीले उहाँहरूलाई छाडेको होइन, उहाँहरू मुद्दाको पर्खाइमा हुनुहुन्छ । भोलि अदालतले निर्णय गरेपछि वा परिस्थिति सम्हालिएपछि उहाँहरू पनि यही मूलधारमा आउनैपर्छ । किनकि नेपाली कांग्रेसको सांगठनिक निरन्तरता सानेपाबाटै हुन्छ, कुनै व्यक्तिगत निवास वा तदर्थ समूहबाट हुँदैन ।

 

अहिले मुलुकको राजनीति अलि भिन्न मोडमा छ । नयाँ राजनीतिक दलहरूको उदय, पुराना दलहरूप्रतिको जनआक्रोश र सामाजिक सञ्जालमा देखिने असन्तोषका बीच कांग्रेसका लागि आगामी बाटो कत्तिको सहज छ ?

यो अत्यन्तै मर्मस्पर्शी विषय हो । आज मुलुकमा कांग्रेस, एमाले वा समग्र पुराना राजनीतिक दलहरूप्रति आमनागरिकमा एक किसिमको वितृष्णा र असन्तोष देखिएकै हो, यसलाई हामीले स्विकार्नुपर्छ । तर, यसको कारण के हो ? हामीले जनताका अपेक्षा, सुशासनका चाहना र नयाँ पुस्ताका सपनालाई समयमै सम्बोधन गर्न सकेनौँ । तर, के नयाँ आएका वा ‘घन्टी’जस्ता पपुलिस्ट शक्तिहरूले जनताको समस्या समाधान गर्न सके त ? अहिल्यै नागरिकमा ठूलो निराशा आइसकेको छ । म तपाईंलाई एउटा ताजा उदाहरण दिन्छु-हिजो मात्रै मेरो क्षेत्रका एकजना पुराना, पाका नेता, जो काठमाडौं बस्नुहुन्छ, उहाँले मलाई फोन गर्नुभयो । उहाँले अलिकति भावुक हुँदै भन्नुभयो, ‘हेर्नुस् छोरी, हामीले रिसको झोँकमा कांग्रेस छाड्यौँ, घन्टीमा भोट हाल्यौँ । तर आज हामीलाई ठूलो पश्चात्ताप भएको छ । नयाँ भनिएकाहरूसँग न त कुनै दर्शन छ, न पद्धति छ, न त जनताको दुःख बुझ्ने क्षमता छ । कांग्रेसलाई जसरी हुन्छ बचाउनुस्, सुधार्नुस् ।’

यो एउटा उदाहरण मात्र हो । आज आमनेपाली जनताले के रियलाइजेसन (अनुभूति) गरिरहेका छन्- अन्ततः लोकतन्त्र बचाउने, संविधानको संरक्षण गर्ने, समावेशी अधिकारहरूको रक्षा गर्ने र जनताको दुःखमा उभिने पार्टी त नेपाली कांग्रेस नै रहेछ । जब जनतामा यो चेत फर्कंदै छ, यस्तो बेला हामी कांग्रेसका नेताहरू चाहिँ आपसमा फुटेर, जुधेर र साना-साना गुटमा बाँडिएर बस्नु महाअपराध हुन्छ । त्यसैले हामीले यो महाधिवेशनमार्फत कांग्रेसलाई पुनर्जाग्रित गर्नुछ ।

संविधान र राजनीतिक उपलब्धिहरूकै रक्षाका लागि पनि पार्टी एकता आवश्यक छ भन्न खोज्नुभएको हो ?

बिल्कुलै ! आज नेपालको संविधानमा जुन समावेशिता, समानुपातिक सहभागिता, प्रादेशिक संरचना, गणतन्त्र र मौलिक अधिकारका कुराहरू लेखिएका छन्, यी कसैले उपहारमा दिएको होइन । यो नेपाली कांग्रेसको नेतृत्वमा भएका जनआन्दोलन र बलिदानको प्रतिफल हो । यदि नेपाली कांग्रेस कमजोर भयो वा फुटेर छिन्नभिन्न भयो भने यी सम्पूर्ण संवैधानिक उपलब्धिहरू, संघीयता र लोकतान्त्रिक ढाँचा नै खतरामा पर्छ । लोकतन्त्रको रक्षाका लागि पनि बलियो र एकढिक्का कांग्रेस चाहिन्छ । त्यसैले राष्ट्रिय भेलाहरूमा होस् या केन्द्रीय कार्यसमितिमा, मैले निरन्तर भन्दै आएकी छु-कांग्रेसको एकताको कुनै विकल्प छैन ।

नेपाली कांग्रेसको वर्तमान विधान र यसले अपनाएको समावेशी ढाँचालाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?

वर्तमान विधान विगतको तुलनामा धेरै प्रगतिशील र फराकिलो छ । यसले पार्टीका हरेक तहमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक र पिछडिएका क्षेत्रका साथीहरूलाई सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर, मेरो जोड के छ भने-हामीले अब ‘संख्यात्मक समावेशिता’मा मात्र सीमित हुनु हुँदैन । अबको कांग्रेसले ‘अर्थपूर्ण समावेशिता’को अभ्यास गर्नुपर्छ । पदमा मान्छे राख्ने तर नीति निर्माण र निर्णय प्रक्रियामा भूमिका नदिने परिपाटीको अन्त्य हुनुपर्छ । समावेशी समुदायका साथीहरूलाई विचार, क्षमता र नेतृत्वका हिसाबले अगाडि बढाउने वातावरण कांग्रेसले बनाउनुपर्छ ।

यसपटक विधानै संशोधन गरेर केन्द्रीय सदस्य वा पदाधिकारी पनि वडा तहबाटै चुनिएर आउनुपर्ने प्रावधान राखिएको छ । यो व्यवस्थाले शीर्ष नेताहरूलाई अप्ठ्यारो पारेको छ कि रमाइलो भएको छ ?

(हाँस्दै) मलाई त अति नै रमाइलो र आत्मसन्तुष्टि मिलेको छ ! कुनै अप्ठ्यारो लागेको छैन । केन्द्रीय सदस्य भइसकेपछि स्वतः प्रतिनिधि हुने व्यवस्था गिरिजाप्रसाद कोइराला सभापति छँदादेखि नै चल्दै आएको थियो । तर, त्यसले नेताहरूलाई तल्लो तहका कार्यकर्ता र आम जनताबाट टाढा बनाएको थियो । ‘नेताहरू काठमाडौंमै बस्छन्, चुनावका बेला मात्र गाउँ आउँछन्, महाधिवेशनमा स्वतः प्रतिनिधि बनेर भोट हाल्छन्’ भन्ने जुन तीव्र आलोचना हुन्थ्यो । अहिलेको यो ‘ब्रेक थ्रु’ले नेताहरूलाई पुनः आफ्नै धरातल र वडा तहमा पुर्‍याएको छ । नेता र कार्यकर्ताबीचको भावनात्मक सम्बन्धलाई पुनः ताजा बनाएको छ ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र छ । देउवा पक्षका कतिपय अझै असन्तुष्ट देखिन्छन् । देउवाको राजनीतिक भविष्य र उहाँप्रतिको दृष्टिकोणबारे तपाईंको भनाइ के छ ?

म यो विषयमा अत्यन्तै प्रस्ट र पारदर्शी छु । मैले सानेपा केन्द्रीय कार्यालयको बैठकमा पनि यही कुरा जोडदार रूपमा उठाएकी छु । आदरणीय पूर्वसभापति शेरबहादुर देउवा नेपालको लोकतान्त्रिक आन्दोलन, प्रजातन्त्रको पुनर्वहाली र पार्टी निर्माणमा दशकौँसम्म अतुलनीय योगदान दिनुभएको ऐतिहासिक नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिदेखि कार्यवाहक, सभापति र पाँच-पाँचपटक मुलुकको प्रधानमन्त्री हुनुभएका व्यक्ति हुनुहुन्छ । उहाँले पार्टी र देशका लागि गर्नुभएको त्याग र योगदानको कदर हामी सबैले गर्नुपर्छ । विधानको व्यवस्था अनुसार उहाँ अब सभापतिको दौडमा हुनुहुन्न र उहाँले नेतृत्व हस्तान्तरणको बाटो खुला गरिसक्नुभएको छ । यस्तो अवस्थामा उहाँको बहिर्गमन ‘सम्मानजनक’ हुनुपर्छ । उहाँलाई उपेक्षा गरेर वा अपमान गरेर कांग्रेस अगाडि बढ्न सक्दैन । वर्तमान सभापति गगन थापाज्यूलाई पनि मैले भनेकी छु- ‘तपाईंले अझै मिहिनेत गर्नुहोस्, शेरबहादुर देउवालगायतका सबै वरिष्ठ नेताहरूलाई स-सम्मान एकै ठाउँमा ल्याउने र महाधिवेशनको उद्घाटन उहाँकै हातबाट गराउने वातावरण बनाउनुहोस् ।’

हामी चाहन्छौँ, पूर्वसभापति देउवालाई पार्टीको सर्वोच्च अभिभावकीय भूमिकामा राखियोस् । नयाँ पुस्ताले पुराना नेताहरूको अपमान गरेर होइन, उहाँहरूको योगदानको कदर गर्दै उहाँहरूबाट सिक्ने र सम्मान गर्ने संस्कार बसाउनुपर्छ ।

तर, केही अनुहारहरू, जो २०-२५ वर्षदेखि निरन्तर केन्द्रीय पदमा रहनुभयो, उहाँहरू अहिले सानेपाको यो प्रक्रियामा देखिनुभएको छैन नि ?

हो, त्यो दृश्य देख्दा मलाई पनि व्यक्तिगत रूपमा नमिठो र नमज्जा लागेको छ । मैले विद्यार्थी राजनीतिदेखि उहाँहरूसँगै काम गरेकी हुँ । झन्डै दुई दशकदेखि निरन्तर केन्द्रीय समितिमा सँगै बसेका केही अग्रज अनुहारहरूलाई अहिले महाधिवेशनको यो प्रारम्भिक चरणमा नदेख्दा मन भारी हुन्छ । तर, राजनीति भनेको व्यक्तिभन्दा माथि विचार र पद्धति हो । म अहिले पनि आशावादी छु-उहाँहरू सधैँ बाहिर रहनुहुन्न । एक-दुई दिनभित्र केही सकारात्मक चमत्कार हुन सक्छ । यदि उहाँहरू महाधिवेशनको चुनावी दौडमा आउनुभएन भने पनि आगामी १५औँ महाधिवेशनबाट निर्वाचित भएर आउने नयाँ केन्द्रीय कार्यसमितिले उहाँहरूलाई सम्मानजनक स्थितिमा पार्टीभित्रै राख्ने र उहाँहरूको अनुभवको उपयोग गर्ने वातावरण तयार गर्नेछ । यसमा हाम्रो प्रतिबद्धता छ ।

 

हामी संविधान दिवसको सन्दर्भमा पनि छौँ । ११औँ संविधान दिवस मनाइरहँदा संविधान संशोधनको कुरा उठिरहेको छ । विधेयकहरू अड्किएर बसेको छ । कांग्रेसले यो संवैधानिक मुद्दालाई कसरी अगाडि बढाउँछ ?

संविधान दिवसको यस पावन अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान गतिशील दस्ताबेज हो, यो कुनै शिलालेख होइन । ११ वर्षको अभ्यासका क्रममा हामीले यसका केही सबल पक्ष र केही व्यावहारिक जटिलता देखेका छौँ । संविधानमा परिकल्पना गरिएका धेरै मौलिक हक र अधिकारसम्बन्धी विधेयक अहिले पनि संसद्मा पेन्डिङ (अड्किएर) अवस्थामा छन् ।

अधिकारको वास्तविक विकेन्द्रीकरण, स्थानीय तहहरूलाई अझ बढी शक्तिशाली र साधनस्रोतसम्पन्न बनाउने कुरा, तथा जनताको राज्य संयन्त्रमा सहज पहुँच पुर्‍याउने विषयमा संविधान संशोधन आवश्यक छ । कांग्रेसले यसअघि पनि संविधान संशोधनको आवश्यकतालाई आत्मसात् गरेकै हो । अब १५औँ महाधिवेशन सम्पन्न भइसकेपछि बन्ने नयाँ नीति र नेतृत्वले संविधान संशोधनका रोकिएका एजेन्डा र कानुन निर्माणका प्रक्रियालाई जोडदार रूपमा संसद् र सरकारसमक्ष उठाउनेछ ।

१५ औँ महाधिवेशनपछि कांग्रेसको मुख्य प्राथमिकता के हुनुपर्छ ? कि आन्तरिक व्यवस्थापनमै रुमल्लिइरहला ?

अबको कांग्रेसलाई पुराना गल्ती दोहोर्‍याउने छुट छैन । सुशासन केवल भाषणको विषय होइन, यो व्यवहारमा देखिनुपर्छ । तल्लो तहदेखि नै भ्रष्टाचारमुक्त, पारदर्शी र जनताको सुख-दुःखमा साथ दिने कांग्रेस निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो । हामीले वडा तहदेखि नै चुनावका बेला साथीहरूबीच हुने आन्तरिक द्वन्द्वलाई समाप्त पार्न सर्वसम्मतिको अभ्यास गरिरहेका छौँ । जब पार्टीभित्र आन्तरिक सद्भाव हुन्छ, तब मात्र हामी जनताको सेवामा तल्लो तहसम्म प्रभावकारी रूपमा काम गर्न सक्छौँ ।

तपाईंलाई १५औँ महाधिवेशनको केन्द्रीय महाधिवेशनमा कुन पदमा प्रतिस्पर्धा गरेको देख्न पाइन्छ ? तपाईंको व्यक्तिगत तयारी के छ ?

(मुस्कुराउँदै) मैले अहिल्यै नै ‘म यो पदमा लड्छु’ भनेर ठ्याक्कै परिकल्पना वा घोषणा गरेकी छैन । राजनीतिमा पदभन्दा बढी जिम्मेवारी र साथीहरूको विश्वास मुख्य कुरा हो । अहिले हामी सबैको ध्यान वडा, पालिका, प्रदेश र जिल्ला तहका अधिवेशनहरूलाई स्वच्छ, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउनेतर्फ केन्द्रित छ । देशभरका साथीहरूसँग, अग्रज नेताहरूसँग सल्लाह-परामर्श गर्नेछौँ । पार्टीको संगठनलाई सुदृढ बनाउन र आमकार्यकर्ताको भावनाअनुसार मलाई जहाँ उपयुक्त मानिनेछ, त्यही पद र जिम्मेवारीमा तपाईंहरूले मलाई देख्नुहुनेछ ।

अन्तमा, देशभरिका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू, समर्थक र आमनागरिकलाई के भन्न चाहनुहुन्छ ?

म देशभरिका तमाम निष्ठावान् नेपाली कांग्रेसका सदस्यहरू, शुभेच्छुक र आमआदरणीय नागरिकलाई हार्दिक अनुरोध गर्न चाहन्छु-अहिलेको यो १५औँ महाधिवेशनलाई सफल पार्न सबै जना तन, मन र वचनले लागौँ । सानातिना वैचारिक विमति वा आन्तरिक असन्तुष्टिलाई बिर्सेर, पार्टी एकतालाई सर्वोपरि ठानी अधिवेशनको यो लोकतान्त्रिक उत्सवमा सहभागी बनौँ । नेपाली कांग्रेस बलियो हुनु भनेको मुलुकमा लोकतन्त्र, सुशासन, समावेशिता र राष्ट्रियता बलियो हुनु हो । त्यसैले एकजुट भएर १५ औँ महाधिवेशनलाई भव्य रूपमा सफल बनाऔँ ।