प्रकाशचन्द्र खतिवडा

अनन्त संभावना बोकेर

ad

मान्छेहरु जीवनको रथ हाँकि रहेछन

मान्छेहरु भूतलाई समीक्षा गर्दै

तिक्त वर्तमानमा टेकेर

अनिस्चित भबिष्य नियालि बस्छन ।

 

मान्छेहरु खेलाडी जस्तै हुन

गोल पोष्टमा गोल हान्न

तँ छाड म छाड गरिरहेछन

परन्तु गोल फल्ट हुन्छ

अहिले बल कर्नर भएको छ 

दर्शकहरु चिच्याइ रहेछन

गोलको अपेक्षा गरेर ।

 

गोल लाउन नसके जस्तै

संभावना तुहिएर जान्छन

मान्छेहरु जीवनको रथ हाँक्न नसकी

एकाएक जीवन यात्रा बाट पलायन हुन्छन

मृत्यु खित्का छोडेर हाँस्छ

मान्छेहरु शोकमा डुबेर रुन्छन

मृत्यु जितेर जान्छ

मान्छेहरु हारेर बाँच्छन ।

 

मृत्यु तेरो आयु म नाप्ने छु 

जसरी तँ हाम्रो आयु नापि रहेछस

तँलाई ब्रम्हनालमा सुताएर

बनाउने छु चिता

र दिने छु दाग बत्ति ।

 

मान्छेहरु बिजयमा रमाउने छन

मृत्युको मृत्यु खबर सुनेर

मान्छेहरु पुनः जीवनको रथ तान्नेछन

गन्तव्य पहिल्याउँदै

भबिष्यको खाका कोरेर ।

 

आमा रुनेछिन

शिशु वियोगमा

छाती पिट्दै

मृत्युलाई सरापेर ।

 

चर्कन्छ छाती

भत्भति पोल्छ मन

रोकिदैन अश्रुधारा,

आमाको सुस्केरा सुनेर पनि

मान्छेहरु सहानुभूति राख्दैनन

मैले  मात्रै शोक मनाएर के गर्ने  ?

मान्छेहरु रमिते बने पछि ।

 

स्वार्थले बल्छन मान्छेहरु

आफ्नो बिरानो नछुट्याई 

पाप धर्मको ख्यालै नगरी

आफन्तलाई डस्छन मान्छेहरु ।

 

मृत्यु सँग हारेर पनि मान्छे 

अहंकारको नाङ्लो ठटाउँदै

विश्व विजेता बन्ने दाउपेच गर्छ  

र पछारिन्छ मृत्युको मुखमा मान्छे ।