
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त संविधानका सङ्कल्पहरूलाई भाषणमा मात्र सीमित नराखी नागरिकको दैनिकीमा अनुभूत गराउनुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको ऐतिहासिक क्षणमा लोकतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवर्तनका पक्षधर योद्धाहरू एवं अग्रजहरूप्रति सम्मान व्यक्त गरे । राष्ट्रपति पौडेलले देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको भन्दै भत्किएका भौतिक संरचनासँगै विस्थापित परिवारका सपना फर्काउनु राज्यको दायित्व भएको उल्लेख गरे । जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकास ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान दिलाउने यस जननिर्मित संविधानले एकात्मक र केन्द्रीकृत शासनप्रणालीको बदलामा सङ्घीयता, समावेशी शासन र नयाँ शासकीय संरचना दिएको स्पष्ट गरे । संविधान कागजमा लेखिएका शब्दको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएकाले राज्य नागरिकको सेवक बनेर न्याय र समानता कायम गर्नुपर्नेमा उनले जोड दिए । असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले नै लोकतन्त्रलाई बलियो बनाउने स्पष्ट पार्दै उनले राजनीतिक परिवर्तनलाई जनताको जीवनमा जोड्न सुशासन र उत्कृष्ट सेवा प्रवाह अनिवार्य रहेको बताए ।

शासकीय संरचनाको परिमार्जनसँगै राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा रूपान्तरण नआएसम्म युगका अपेक्षाहरू पूरा हुन नसक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधान दिवसले सम्पूर्ण राजनीतिक दल, नेतृत्व, सरकार र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास व्यक्त गरे ।








Facebook Comments