काठमाडौं । चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलमा तीव्र मतभेद चलिरहँदा विद्या भण्डारीलाई आफ्नो पक्षमा उभिएर सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुनय गरे पनि भण्डारीको कडा प्रश्नबाट ओली झस्किएका छन् । आफू पार्टीमा अल्पमतमा परेपछि भण्डारीको साथ खोजेका ओलीलाई भण्डारीले उल्टै प्रश्न गरेर रित्तो हात फर्काइदिएकी छन् । 

पार्टीभित्र आफ्नो नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टिका स्वर बढ्दै गइरहँदा साथ माग्न केही दिनअघि विद्यानिवास, बालुवाटार पुगेका ओलीलाई विद्याले ‘सबैलाई शत्रु देख्दा पार्टी चल्छ त ?’ भनी प्रश्न गरेकी थिइन् । भेटमा ओलीले पार्टीभित्र रडाको मच्चाएर अनुशासनहीन काम भइरहेको र बाह्य शक्तिलाई बल पुग्ने गरी प्रतिवेदन बनाउन खोजिएको भन्दै यसविरुद्ध उभिन भण्डारीलाई आग्रह गरेका थिए । भण्डारीले ‘विगतमा तपाईंकै निकट रहेर काम गरेकाहरू नै अहिले विपक्षमा उत्रिँदा तपाईं पार्टीभित्र अल्पमत भएको’ आफूले सुनेको भन्दै यसरी पार्टी चल्न नसक्ने जवाफ फर्काएपछि ओली थप दबाबमा परेको राजनीतिक वृत्तमा चर्चा छ । भण्डारीले उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेलले उठाएको पार्टी पुनर्गठनको विषयबारे गम्भीर भएर सोच्न पनि ओलीलाई सुझाव दिएकी थिइन् । 

ad

एमालेभित्र पुनर्गठनको धार बलियो बनेको छ तर अध्यक्ष ओली स्विकार्न तयार छैनन् । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेलले ओलीले पद छाड्नुपर्ने प्रतिवेदन ल्याएपछि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ओलीको बचाउमा अर्को प्रतिवेदन लेखेर कार्यदलमा पेस गरेका छन् । ओली पक्षले प्रतिवेदन फिर्ता लिन दबाब दिए पनि पोखरेल आफूले पार्टीको सचिवालय र कार्यदलले दिएको कार्यादेशबमोजिम तयार पारेको प्रतिवेदन फिर्ता नगर्ने अडानमा छन् । पोखरेलको प्रतिवेदनमा कार्यदलका बहुसंख्यक सदस्यको समर्थन देखिएपछि ओली पक्ष दबाबमा परेको हो । दुवैलाई मिलाएर एकीकृत प्रतिवेदन तयार पार्न पटकपटक बैठक बसे पनि सहमति जुटेको छैन । 

कार्यदलबाट एकीकृत प्रतिवेदन तयार पार्ने निष्कर्षसहित काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा आवासीयसहित पटकपटक बसेका बैठकमा नेताहरूबीच सहमति जुट्न सकेको छैन । ओलीले नेतृत्व छाड्न नपर्ने भन्ने आफ्नो प्रतिवेदन पारित हुने सम्भावना नदेखिएपछि संयोजक बादलले ओलीको निर्देशनमा कार्यदल बैठक नै अनिश्चित काललाई स्थगन गरेका छन् ।