
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो र ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको औपचारिक कार्यतालिका अनुसार वडा अधिवेशन सुरु भइसकेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । त्यसमध्य हिजो वडा अधिवेशन सम्पन्न नभएका धेरै वडाहरूमा आज सम्पन्न हुने बताइएको छ । महाधिवेशन हुन नदिने दबाव र सर्वोच्चको मुद्दाबीच पनि उत्साहसहित वडा अधिवेशनहरू सम्पन्न हुनुले कांग्रेसको मूल मर्म सभापति गगनकुमार थापासँग रहेको पुष्टि भएको छ । पार्टी सभापति थापाले महाधिवेशनको ऐतिहासिक प्रक्रिया वडा तहबाटै अघि बढेको घोषणा गर्दै देशभरका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई कुनै द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन सार्वजनिक आह्वान गरेपछि देशभर कांग्रेसी कार्यकर्तामा उत्साह थपिएको छ ।
१५औँ महाधिवेशनको सुरुवात उत्साहजनक भए पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई ‘अवैधानिक’ भन्दै बहिष्कारको घोषणा गरेको छ । यद्यपि देउवा पक्षधरहरूको संख्या अत्यन्त न्यून छ । देउवातिर विगतदेखि उनीबाट लाभ लिएकाहरू मात्र बाँकी रहेको र उनीहरूको विरोधको अर्थ नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । गत पुसको विशेष महाधिवेशनपछि सुरु भएको वैधानिकताको विवाद सर्वोच्च अदालतमा पुनरवलोकनका क्रममा विचाराधीन रहेको तर्क गर्दै देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्मलाई छुट्टै महाधिवेशनको तालिका घोषणा गरी समानान्तर शक्ति–अभ्यासको प्रयास गरेको थियो । यद्यपि, महाधिवेशन प्रक्रिया सुरु हुनै लाग्दा देउवा क्याम्पका ३१ जना प्रभावशाली नेता सानेपा पुगेर थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित भई एकताको सन्देश दिएपछि देउवा पक्ष संकटमा परेको छ । सभापति थापाले पूर्वसभापति देउवालाई प्रमुख अतिथिका रूपमा १५औँ महाधिवेशनको उद्घाटन गरिदिन निम्तो दिँदै सहमतिको ढोका अझै खुला रहेको सन्देश दिएका छन् ।
आन्तरिक गुटबन्दी र बहिष्कारको विवादका बाबजुद तोकिएकै कार्यतालिकाअनुसार ३ र ४ असोजमा वडा अधिवेशन, त्यसलगत्तै पालिका अधिवेशन, ७ असोजमा जिल्ला अधिवेशन र १० असोजमा प्रदेश अधिवेशन सम्पन्न गरी काठमाडौँको महाधिवेशनतर्फ अघि बढ्ने कांग्रेसको तयारी छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी,अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका ३३९६ वडामा अधिवेशन पश्चात वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आज आइतबार पनि निरन्तर जारी रहने छ । यस्तै, असोज १० गते शनिबार प्रदेशसभा क्षेत्रीय अधिवेशन÷प्रतिनिधिसभा क्षेत्रीय
अधिवेशन तथा असोज १६, १७, १८ र १९ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने तयारी छ ।
यस महाधिवेशनको सबैभन्दा सबल पक्ष भनेको वडादेखि केन्द्रीय कार्यसमितिसम्मै युवाको अनिवार्य र प्रत्यक्ष प्रतिनिधित्वको वैधानिक सुनिश्चय हुनु हो । विशेष महाधिवेशनबाट संशोधित पार्टी विधानले ३० देखि ३५ वर्षमुनिका युवाको उपस्थितिलाई चुस्त र बाध्यकारी बनाएको छ ।
नयाँ वैधानिक व्यवस्थाअनुसार अब हरेक वडा समितिमा ३० वर्षमुनिका कम्तीमा एक युवा प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ भने नगर तथा महानगरका वडामा दुई युवाको प्रतिनिधित्व सुरक्षित गरिएको छ । त्यसै गरी १५० भन्दा बढी क्रियाशील सदस्य रहेका क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयन गर्दा युवा तथा महिलाको कोटा थपिएको छ । गाउँ, नगर, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरूमा मात्र नभई जिल्ला र प्रदेश तहमा समेत एक तिहाइ महिला र निश्चित संख्यामा ३० वर्षमुनिका युवा प्रत्यक्ष रूपमा चुनिएर आउनुपर्नेछ ।
सबैभन्दा महत्त्वपूर्ण परिवर्तन केन्द्रीय तहमा देखिएको छ । केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुन पाउने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात गरी कुल २१ जना युवा केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । वडातहदेखि नै हजारौँको संख्यामा नयाँ र ऊर्जावान् युवा नेतृत्व तहमा उक्लिने बाटो खुलेकाले १५औँ महाधिवेशनले कांग्रेसको परम्परागत ढर्रा तोड्दै व्यापक पुस्तान्तरण र सांगठनिक पुनर्जीवन दिने निश्चित देखिन्छ ।








Facebook Comments