काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सरकारका गतिविधिविरुद्ध सडक आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। उनले सरकारविरुद्ध सदनभित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको र सडकमा समेत संयुक्त मोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको बताएका हुन्।

शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। उनले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनसँग सम्बन्धित पक्षमाथि सरकारले दमन गरेको आरोप लगाउँदै त्यसको प्रतिवादका लागि व्यापक राजनीतिक तथा सामाजिक मोर्चा आवश्यक रहेको बताए।

ad

उनका अनुसार चाडपर्वको अवधिमा संगठनात्मक तयारी तथा विभिन्न पक्षसँगको छलफललाई निरन्तरता दिइनेछ। त्यसपछि देशको परिस्थितिको मूल्यांकन गरेर नयाँ आन्दोलनको कार्यक्रम अघि बढाउने तयारी छ।

प्रचण्डले पछिल्लो समय आफूहरूले ‘नयाँ’ भनिएको सरकारका गतिविधिका कारण जनतामा रहेको भ्रम हट्दै गएको दाबीसमेत गरे। स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढिरहेको उनको भनाइ थियो।

उनले देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको चासो बढेको आफूले महसुस गरेको बताए। जनतासँग निरन्तर संवाद र संगठन विस्तार गर्न सके आगामी आन्दोलनमा समर्थन बढ्ने उनको दाबी थियो।

प्रचण्डले वामपन्थी शक्तिबीच सहकार्य र एकताको प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए। पुराना राजनीतिक नेतृत्वसँगै नयाँ पुस्ता र युवालाई समेटेर राजनीतिक चुनौतीको सामना गर्ने प्रयास भइरहेको उनले बताए।

उनका अनुसार सदनभित्र प्रतिपक्षी दलहरूलाई साझा धारणा निर्माणका लागि एक ठाउँमा ल्याउने र सडकमा समेत विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा श्रमिक–किसानका संगठनलाई समेटेर संयुक्त मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ।

प्रचण्डले आफूहरूले विगतमा गरेका कामको समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याए। उनले विगतका कमजोरी पहिचानसँगै सकारात्मक कामलाई पनि जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए।

कार्यक्रममा उनले कृषि क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गर्दै कृषिको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरणमा जोड दिए। कृषि उत्पादन बढाएर त्यसलाई उद्योगसँग जोड्न सके मात्रै दिगो औद्योगिकीकरण र आर्थिक समृद्धिको आधार तयार हुने उनको भनाइ थियो।

आफू प्रधानमन्त्री रहेका बेला कृषि क्षेत्रमा लगानी र किसानलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिएको दाबी गर्दै उनले भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने निर्णयलाई समेत कृषि क्षेत्रको विकाससँग जोडेर व्याख्या गरे।

सरकारका गतिविधिविरुद्ध आन्दोलनको तयारीसँगै आफ्नो पार्टीले वामपन्थी तथा अन्य राजनीतिक शक्तिसँग सहकार्य विस्तार गर्ने र जनतामाझ संगठनात्मक रूपमा सक्रियता बढाउने प्रचण्डको भनाइ छ।