
काठमाडौं । सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित नाम टुंगो लगाएको हो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम अघि सारेको छ।
त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूत बनाइएको छ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ।
यसैगरी श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा प्रस्ताव गरिएको छ।
सरकारले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछन्। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट राजदूतका लागि सहमति अर्थात् एग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।
यसैबीच, भारत र चीनजस्ता महत्वपूर्ण छिमेकी मुलुकमा सिफारिस गरिएका व्यक्तिको विषयमा राजनीतिक वृत्तमा पनि चासो बढेको छ। स्रोतका अनुसार भारत र चीनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट नाम सिफारिस गरिएको हो। अमेरिकाका लागि सिफारिस गरिएको नाम पनि रास्वपासँग निकट रहेको स्रोतको दाबी छ।
सरकारको पछिल्लो निर्णयसँगै लामो समयदेखि रिक्त रहेका विभिन्न मुलुकका नेपाली राजदूत पदमा नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।
सिफारिस गरिएका १३ राजदूत :
डा. निश्चलनाथ पाण्डे — भारत
डा. कल्याणराज शर्मा — चीन
चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
गौरवशमशेर जबरा — संयुक्त अधिराज्य
जिज्ञनकुमार थापा — जापान
सुरेशकुमार कर्ण — इजरायल
प्राप्ति शेरचन — स्पेन
शारू जोशी — जर्मनी
डा. पद्माक्षी राणा — ओमान
चूडामणि खरेल — मलेसिया
प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया
डा. मञ्चल झा — श्रीलंका
गिरीबहादुर सुनार — साउदी अरेबिया









Facebook Comments