
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी पुस्ताका सांसदहरूलाई युवाका आवश्यकता र बदलिँदो प्रविधिसँग सम्बन्धित विषयलाई संसद्को बहसमा प्राथमिकता दिन आग्रह गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रियामा उनले युवाका लागि स्वदेशमै रोजगारी तथा अवसर विस्तार गर्न सांसदहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्री शाहले डिजिटल प्रविधि, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), खेलकुद, कला तथा विदेशमा रहेका नेपाली युवासँग जोडिएका विषयलाई संसद्को एजेण्डा बनाउनुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले संसद्का गतिविधिलाई आफूले नियमित रूपमा नियालिरहेको उल्लेख गर्दै जेनजी पुस्ताका सांसदबाट नयाँ सोच र फरक विषयलाई बहसमा ल्याउने अपेक्षा राखेको बताएका थिए।
अन्तरक्रियामा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विषयसमेत उठेको थियो। सांसद केपी खनालका अनुसार प्रधानमन्त्रीले युवाहरूलाई व्यवसाय तथा स्टार्टअपमा संलग्न हुन प्रोत्साहित गर्दै आम्दानीका वैकल्पिक माध्यमबारे समेत सोच्न आग्रह गरेका थिए। सूचना प्रविधि क्षेत्रको विकासका विषयमा पनि छलफल भएको उनले बताए।
सांसदहरूले नेपालमा आईटी कम्पनी तथा व्यवसाय दर्ता र सञ्चालनका लागि विद्यमान प्रक्रियालाई थप सहज बनाउनुपर्ने धारणा राखेका थिए। जवाफमा प्रधानमन्त्रीले नेपालमै व्यवसाय स्थापना गर्न सहज वातावरण निर्माणका लागि सरकार सकारात्मक रहेको र व्यावहारिक समस्या देखिए सरकारसँग समन्वय तथा सुझाव दिन आग्रह गरेको खनालले बताए।
युवाका लागि रोजगारी सिर्जना गर्न सरकारले बैंकिङ कर्जा प्रक्रियालाई सरल बनाउने र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको सांसदहरूले जानकारी दिएका छन्।
छलफलमा जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा ज्यान गुमाएका व्यक्तिसँग सम्बन्धित विषय पनि उठेको थियो। खनालका अनुसार आन्दोलनसँग सम्बन्धित मुद्दाको अध्ययन गर्न गृह मन्त्रालयअन्तर्गत समिति गठन भएको छ। समितिले मुद्दाको प्रकृति वर्गीकरण गरी कानुनअनुसार फिर्ता लिन मिल्ने मुद्दाका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा अध्ययन गरिरहेको उनले बताए।
तर गम्भीर प्रकृतिका अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटजस्ता घटनामा संलग्न देखिएकाहरूको हकमा कानुनी प्रक्रिया यथावत् रहने खनालले स्पष्ट पारे।
प्रधानमन्त्री शाहले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका नेपाली युवा, खेलकुद तथा कला क्षेत्रमा आबद्ध युवालगायत विभिन्न समूहका समस्या र अपेक्षालाई संसद्को मूल एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए।
सरकारका कामकारबाहीबारे रचनात्मक आलोचना गर्न तथा आवश्यक सुझाव दिन पनि प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई आग्रह गरेका थिए। सरकारका गतिविधिमाथि प्रश्न उठाउनुका साथै सुधारका लागि व्यावहारिक सुझाव दिनुपर्ने उनको भनाइ थियो।
रास्वपा सांसद बब्लु गुप्ताका अनुसार प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूको संसद्भित्रको गतिविधि र उनीहरूले उठाउने नयाँ विचारप्रति आफूले चासो राख्दै आएको बताएका थिए। प्रधानमन्त्रीले युवा पुस्ताबाट आएका फरक सोच र एजेण्डालाई संसद्को बहसमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा समेत जोड दिएका थिए।









Facebook Comments