
काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनसम्बन्धी बहसलाई फरक ढंगबाट अघि बढाउन कार्यदलका नेताहरूलाई आग्रह गरेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा कार्यदलका सदस्यसहित शीर्ष नेताहरूसँग भएको छलफलमा ओलीले प्रतिवेदनमा ‘पुनर्गठन’ शब्द र अवधारणाको विकल्प खोज्न निर्देशन दिएको बताइएको छ।
छलफलमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र भानुभक्त ढकाललगायत नेता सहभागी थिए।
बैठकमा ओलीले पार्टीको आगामी दिशाबारे छलफल गर्दै पुनर्गठनको विषयलाई मात्रै केन्द्रमा नराख्न आग्रह गरेको स्रोतले जनाएको छ। उनले केही दिनअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटवार्ताको प्रसंगसमेत बैठकमा उठाएका थिए।
ओलीले प्रचण्डसँग नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको भन्दै त्यसअनुसार तयारी गर्न नेताहरूलाई भनेको स्रोतको दाबी छ।
तर महासचिव शंकर पोखरेलले भने तल्लो तहदेखि जिल्ला र प्रदेश कमिटीसम्मबाट आएका सुझावलाई बेवास्ता गर्न नसकिने अडान राखेको बताइएको छ। ती तहबाट नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनको पक्षमा सुझाव प्राप्त भएकाले प्रतिवेदनमा त्यसलाई समेट्नुपर्ने पोखरेलको धारणा रहेको स्रोतले जनाएको छ।
यसअघि पोखरेलले कार्यदलको सहमतिअनुसार तयार पारेको प्रतिवेदनमा पुनर्गठन र नेतृत्वसम्बन्धी विषय समेटिएको बताइएको छ। त्यसको विकल्पमा कार्यदल संयोजक थापाले छुट्टै प्रतिवेदन तयार पारेको दाबीसमेत गरिएको छ।
कार्यदलभित्र दुई फरक धारका प्रतिवेदन तयार भएको विषयले एमालेभित्रको आन्तरिक बहस थप जटिल बनेको छ।
अध्यक्ष ओलीले आगामी ३ असोजसम्म कार्यदलको प्रतिवेदन टुंग्याउन निर्देशन दिएको बताइएको छ। त्यसपछि ४ असोजमा सचिवालय र ५ असोजमा केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका प्रस्ताव गरिएको स्रोतले जनाएको छ।
पार्टीको आगामी नेतृत्व, संगठनात्मक संरचना र सम्भावित राजनीतिक सहकार्यबारे एमालेभित्र जारी बहसका बीच ओली र प्रचण्डबीचको संवादको विषयले समेत नयाँ राजनीतिक समीकरणको सम्भावनाबारे चर्चा बढाएको छ।









Facebook Comments