
काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचना आवश्यक भइसकेको बताएका छन्। उनले नेतृत्व हस्तान्तरणबिना एमालेले नयाँ ऊर्जा प्राप्त गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा भट्टराईले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा प्रतिवेदन तयार गर्न बनाइएको कार्यदलको काममा अध्यक्ष केपी शर्मा ओलीबाट हस्तक्षेप भएको आरोप लगाए।
उनका अनुसार कार्यदलमा भएको सहमतिअनुसार महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको मस्यौदा सदस्यहरूलाई अध्ययनका लागि वितरण भइसकेको थियो। तर अध्यक्ष ओलीको असहमतिपछि प्रतिवेदनमाथिको छलफल अघि बढ्न नसकेको उनले बताए।
भट्टराईले ओलीको निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई पोखरेलको प्रतिवेदनको विकल्पका रूपमा अर्को समानान्तर प्रतिवेदन तयार गर्न लगाइएको दाबीसमेत गरे।
उनले पार्टीका सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट प्राप्त सुझावलाई हेर्दा एमालेभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको विषय प्रमुख रूपमा उठेको बताए।
एमालेले अब पुरानै शैली र संरचनाबाट अघि बढ्न नसक्ने उल्लेख गर्दै भट्टराईले नीति, संगठनात्मक संरचना, कार्यशैली तथा नेताहरूको सार्वजनिक अभिव्यक्तिमा समेत पुनरावलोकन आवश्यक रहेको धारणा राखे। उनले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषयलाई पनि जोड दिए।
यसैगरी, भट्टराईले वर्तमान सरकार गठन भएको करिब छ महिना पुग्न लाग्दा पनि अपेक्षित गतिमा काम गर्न नसकेको टिप्पणी गरे। नागरिकलाई सहज सेवा र सुरक्षाको अनुभूति दिलाउनुपर्ने सरकारबाट उल्टै त्रास र भयको वातावरण सिर्जना भएको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।









Facebook Comments