काठमाडौं — नेकपाका सह-संयोजक माधवकुमार नेपालले नेपाल पछिल्लो समय गम्भीर चुनौतीको अवस्थामा रहेको बताएका छन्। विदेशी शक्तिहरूको गतिविधि र चलखेलका कारण मुलुकको राष्ट्रियता जोखिममा पर्न सक्ने भन्दै उनले यसप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरेका छन्।

शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल कुनै पनि विदेशी शक्तिको स्वार्थ पूरा गर्ने खेलमैदान बन्न नहुने बताए।

ad

उनले मुलुकका विद्यमान चुनौतीको सामना गर्न वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको उल्लेख गरे। यस्ता शक्तिहरूलाई एकताबद्ध गर्दै पार्टी अघि बढ्ने उनको भनाइ थियो।

नेपालले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए। कृषि अर्थतन्त्रलाई बलियो बनाउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण अपरिहार्य रहेको उनले बताए।

उनका अनुसार कृषि क्षेत्रमा प्रविधिको प्रयोग र उत्पादनमुखी रूपान्तरणमार्फत कृषि क्रान्तिलाई अघि बढाउन सके मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।