काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औं महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरी शीर्ष नेताहरूसँग तत्काल संवाद थाल्न सार्वजनिक रूपमै आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत खड्काले पार्टीमा आन्तरिक एकता कायम गर्नका लागि सभापति थापालाई १४औं महाधिवेशनबाट निर्वाचित पूर्वसभापति शेरबहादुर देउवासहितका अग्रज नेताहरूसँग वार्ताको टेबलमा बस्न जोड दिएका हुन्। असोज ३ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनको तालिका केही पछि सारेर थापाकै अग्रसरतामा सबै पक्षबीच संवादको वातावरण बनाउनुपर्ने उनको भनाइ छ। यदि दुईवटा अलग-अलग अधिवेशन नरोकिए कांग्रेस पार्टीको विभाजनलाई कसैले रोक्न नसक्ने चेतावनी समेत उनले दिएका छन्।

ad

पार्टी विभाजनले केवल कांग्रेसभित्र मात्र नभई अन्य राजनीतिक दलहरूमा समेत नकारात्मक असर पार्न सक्ने र त्यसले मुलुकमा गम्भीर राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउन सक्ने गहिरो आशंका खड्काले व्यक्त गरेका छन्। देशको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा समेत यसले चुनौती थप्न सक्ने उनको विश्लेषण छ।

पार्टीको विधान, कानुन र अदालतका निर्णयहरूले सभापति थापालाई कुनै कानुनी अड्चन नपार्ने स्पष्ट पार्दै खड्काले अब सम्पूर्ण कांग्रेस पार्टीको साझा सभापति बन्ने दिशामा अग्रसर हुन र एकताका लागि ‘निर्णायक तथा साहसिक कदम’ चाल्न सुझाव दिएका छन्। पार्टीमा एकता बचाउनका लागि आफू जुनसुकै त्याग गर्न र व्यक्तिगत महत्त्वाकांक्षाबाट पूर्ण रूपमा पछि हट्न तयार रहेको पनि उनले प्रतिबद्धता जनाएका छन्।