
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी असोज १६ गते हुने पार्टीको महाधिवेशन उद्घाटन गरिदिन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा आग्रह गरेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति देउवाको उपस्थिति र उद्घाटनले सिंगो पार्टी पंक्तिलाई गौरवान्वित तुल्याउने बताएका हुन्।
'मेरो आदरणीय नेता तथा पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूको भावना अनुसार अधिवेशनको दिन पूर्वपार्टी सभापतिले नै उद्घाटन गरिदिनुहुँदा त्यो हाम्रा निम्ति ठूलो सम्मानको विषय हुन्छ,' बैठकमा थापाले भने।
साथै, पार्टी विधानको व्यवस्था स्मरण गराउँदै अब देउवा पार्टीको सभापति बन्ने नभई पार्टीलाई मार्गनिर्देशन गर्ने अभिभावकीय भूमिकामा रहने उनले स्पष्ट पारे।
बैठकमा सभापति थापाले महाधिवेशनका आगामी चरणहरूको कार्यतालिका पनि सार्वजनिक गरेका छन्। उनका अनुसार आगामी असोज १६ गते खुलामञ्चमा भव्य रूपमा महाधिवेशनको प्रारम्भ गरिनेछ भने असोज ३ र ४ गते वडा अधिवेशनहरू सञ्चालन हुनेछन्। त्यसपश्चात् नगर, जिल्ला र प्रदेश अधिवेशनका कार्यक्रमहरू अघि बढाइनेछन्।
समयको चापबीच पनि पार्टीभित्र छलफलको वातावरणलाई बलियो बनाउँदै पार्टी एकतालाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।









Facebook Comments