काठमाडौँ । सरकारले धितोपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा हित निसर्गबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले धितोपत्र विनियम बजारमा प्राकृतिक व्यक्तिका लागि लागू हुने अग्रिम करको दर पुनरावलोकन गरिएको जानकारी दिए।

ad

नयाँ व्यवस्थाअनुसार धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निसर्गबाट प्राप्त हुने लाभमा ३६५ दिनभन्दा बढी समय स्वामित्वमा रहेको हितको लाभ रकममा यसअघि लाग्दै आएको ७.५ प्रतिशत अग्रिम कर घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।

त्यसैगरी ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभमा लाग्ने अग्रिम करको दर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तावित ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ पनि स्वीकृत गरेको छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवाअन्तर्गत न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत फणिन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ।

प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई समेत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने व्यवस्था मिलाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।