
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। असोज १६ देखि १९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया देशभर अघि बढिरहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने जानकारी दिए। उनका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका जिल्लामा निर्वाचनसम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढिसकेको छ।
कांग्रेसका अनुसार पार्टीमा हाल करिब ८ लाख ७० हजार क्रियाशील सदस्य छन्। यही सदस्यताका आधारमा वडा तहदेखि नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सञ्चालन भइरहेको छ।
महाधिवेशनअन्तर्गत निर्वाचनलाई व्यवस्थित बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। वडा तहसम्म खटाइएका निर्वाचन अधिकृतले सम्बन्धित स्थानीय तहका पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन प्रक्रिया अघि बढाइरहेका छन्।
यस महाधिवेशनमार्फत कांग्रेसले देशभर साढे ३ लाखभन्दा बढी पार्टी नेतृत्व चयन गर्ने तयारी गरेको छ। प्रारम्भिक विवरणअनुसार वडा समितिमै मात्र २ लाख ९६ हजार ६ सय ९२ जना निर्वाचित हुने अनुमान गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव नेपालका अनुसार तीन जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचनसम्बन्धी सामग्री र प्रक्रिया बुधबारदेखि नै सुरु भएको छ। बाँकी जिल्लामा पनि आवश्यक प्रक्रिया पूरा गरेर निर्वाचन अघि बढाउने तयारी भइरहेको छ।
कांग्रेसले यसपटकको महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने जनाएको छ। वडा तहबाटै नेतृत्व चयन गर्ने र महाधिवेशन प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको पार्टीको भनाइ छ।
पार्टीले महाधिवेशनलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सम्पन्न गर्न निर्वाचन प्रक्रिया पारदर्शी र चुस्त बनाउने तयारी गरेको जनाएको छ।









Facebook Comments