
काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछि मात्र सक्रिय हुने सरकारी कार्यशैलीप्रति प्रश्न उठाउँदै विपद् आउनुअघि सरकारले गरेको तयारीबारे जवाफ मागेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकले राज्यको उपस्थितिको अनुभूति कहिले गर्ने भन्ने प्रश्न गरे। विपद्का बेला उद्धार र राहतसँगै सरकारको पूर्वतयारी र जोखिम न्यूनीकरणको काम पनि प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।
राईले विपद्को प्रारम्भिक चरणमा प्रधानमन्त्रीको नेतृत्वमा सरकारको हस्तक्षेप पर्याप्त प्रभावकारी देखिन नसकेको दाबी गरे। उद्धार तथा राहत वितरणमा देखिएको अव्यवस्थालाई तत्काल सुधार गर्दै प्रभावित नागरिकसम्म राज्यको सेवा प्रभावकारी रूपमा पुर्याउनुपर्ने उनले बताए।
उनका अनुसार विपद् व्यवस्थापनलाई विपद् आइसकेपछि गरिने उद्धार र राहतमा मात्रै सीमित गर्नु हुँदैन। पूर्वसूचना प्रणालीको प्रभावकारिता, जोखिम क्षेत्रको पहिचान, स्थानीय तहसँगको समन्वय र पूर्वतयारी, नदीको नियमित निगरानी तथा उच्च जोखिममा रहेका बस्तीको व्यवस्थापनमा सरकारले कस्तो काम गर्यो भन्ने विषय पनि महत्वपूर्ण रहेको उनले बताए।
‘विपद् आएपछि के गर्ने भन्ने मात्र होइन, विपद् आउनुअघि के गरियो भन्ने प्रश्नको उत्तर पनि सरकारले दिनुपर्छ,’ राईले भने।
बाढीका कारण घर तथा जग्गासहित सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र विद्युत् आयोजनामा क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने बताए।
उनले पुनःस्थापनालाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी सुरक्षित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने धारणा राखे। विपद्बाट प्रभावित नागरिकलाई आवश्यक मनोसामाजिक सहयोगको व्यवस्था पनि पुनःस्थापनाकै हिस्सा हुनुपर्ने उनको भनाइ थियो।
राईले विपद्को सुरुवाती चरणदेखि नै नेपाली कांग्रेसले सरकारलाई ‘अनकन्डिसनल सपोर्ट’ गरेको बताए। नागरिकको पीडाका बेला सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक विभाजन हुन नहुने उल्लेख गर्दै उनले सरकारलाई सहयोग गर्नुको अर्थ नागरिकप्रतिको जिम्मेवारीबाट सरकार मुक्त हुनु नभएको स्पष्ट पारे।









Facebook Comments