काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभर अधिवेशन प्रक्रिया अघि बढाएको छ। विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन गरेको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना हुनेछ। त्यसअघि वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

ad

निर्धारित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ। असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन आयोजना गरिनेछ। सोही प्रक्रियाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ वटै जिल्लामा खटिएका निर्वाचन अधिकृतले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचनसम्बन्धी तयारी र प्रक्रिया अघि बढाइरहेका छन्। अधिवेशनलाई निर्धारित समयमै व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय भइरहेको समितिले जनाएको छ।

निर्वाचन समितिले कांग्रेसका क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, पार्टीका सबै तह तथा निकायलाई तोकिएको निर्वाचन कार्यक्रम सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको छ।

केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न आग्रह गरेका छन्।