
काठमाडौं । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ अर्थात् ‘पुरानो बोझ’ शब्दलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठेको छ। सांसद सीता थपलियाले मन्त्री खनाललाई उक्त अभिव्यक्तिको वास्तविक अर्थ र त्यसले नेपालको विगतको परराष्ट्र नीतिसँग जोड्ने विषयबारे स्पष्ट पार्न आग्रह गरेकी हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा थपलियाले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज छैन’ भन्ने धारणा राखिएको भन्दै त्यसले के जनाउन खोजेको हो भन्ने प्रश्न गरिन्।
उनले विगतका सरकारले गरेका कुन निर्णयलाई ‘पुरानो ब्यागेज’ भनिएको हो भन्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसलाई संविधानमा समावेश गर्ने संशोधनसमेत त्यसैभित्र पर्ने हो कि होइन भनेर प्रश्न उठाइन्।
सांसद थपलियाले विगतका सरकारका परराष्ट्र नीतिमा कमजोरी भए–नभएको र त्यसबारे परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा के हो भन्ने विषयमा समेत मन्त्रीसँग जवाफ मागिन्। जवाफमा परराष्ट्रमन्त्री खनालले आफूले भारतको औपचारिक भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दलाई नेपालको राष्ट्रिय विरासत वा विगतका राज्यका निर्णयसँग जोडेर बुझ्न नहुने स्पष्ट पारे।
उनका अनुसार ‘ब्यागेज’ शब्दले सामान्यतः विगतबाट बोकेर हिँड्नुपर्ने नकारात्मक बोझ वा अवरोधलाई संकेत गर्छ। आफ्नो अभिव्यक्तिको आशय भने नेपालको आन्तरिक राजनीतिक ध्रुवीकरण र परराष्ट्र नीति तथा कूटनीतिलाई संकीर्ण राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिबाट मुक्त भएर अघि बढ्नु रहेको उनले बताए।
“छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो,” मन्त्री खनालले स्पष्ट पारे। उनले आफ्नो भनाइलाई राज्यको निरन्तरता र अघिल्ला सरकारहरूले स्थापित गरेका राष्ट्रिय नीतिको विरासत अस्वीकार गर्ने अर्थमा बुझ्नु अतिशयोक्ति हुने बताए।
मन्त्री खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसअनुसार संविधान संशोधनलाई कुनै पनि हालतमा ‘पुरानो ब्यागेज’ भन्न नमिल्ने स्पष्ट पारे। उनका अनुसार नेपालको राजनीतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसद्को सर्वसम्मत निर्णय मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय संकल्प हो।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषय कुनै पनि सरकारका लागि स्थायी जिम्मेवारी भएको बताए। मन्त्री खनालले आफ्नो भारत भ्रमणका क्रममा गरिएको अभिव्यक्ति नेपालको इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा ऐतिहासिक दस्तावेज संरक्षणप्रति लक्षित नभएको दोहोर्याए।
परराष्ट्रमन्त्री खनालले वर्तमान सरकार छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक प्रतिस्पर्धाको साधन नबनाउने पक्षमा रहेको बताए। उनका अनुसार नेपालले अब पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीलाई आधार बनाएर छिमेकी मुलुकसँगको सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन चाहेको छ।
उनले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै स्पष्ट, परिपक्व र परिणाममुखी कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने सरकारको प्राथमिकता रहेको बताए। “कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी सम्बन्धलाई रूपान्तरणकारी दिशामा लैजान सरकार चाहन्छ,” मन्त्री खनालको भनाइ थियो।
प्रतिनिधिसभामा जवाफ दिँदै खनालले वर्तमान सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए। उनले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध नेपालका लागि उच्च प्राथमिकताको विषय रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको भूमिका महत्वपूर्ण हुने बताए।
भारत भ्रमणका क्रममा आफूले व्यक्त गरेको ‘पुरानो ब्यागेज’ सम्बन्धी भनाइले विगतका राष्ट्रिय निर्णय वा नेपालको संवैधानिक दस्तावेजलाई कमजोर बनाउने उद्देश्य नरहेको उनको स्पष्टीकरणले संसद्मा उठेको विवादलाई राजनीतिक अभ्यास र कूटनीतिक शैलीसँग जोडेर व्याख्या गरेको छ।
मन्त्री खनालको स्पष्टीकरणअनुसार ‘पुरानो ब्यागेज’ भन्नाले नेपालले विगतमा छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्दा अपनाएको राजनीतिक ध्रुवीकरण र कूटनीतिक विषयलाई घरेलु राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्तिलाई जनाउँछ, न कि नेपालको सीमा, नक्सा वा राष्ट्रिय हितसँग सम्बन्धित निर्णयलाई।









Facebook Comments