
काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले छलफलका क्रममा प्रस्तुत भएका दुई छुट्टाछुट्टै मस्यौदालाई एकीकृत गरी अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ।
काभ्रेको बल्थलीमा दुई दिनसम्म बसेको कार्यदलको बैठकमा प्रतिवेदनका विषयमा एकमत हुन नसकेपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई मस्यौदालाई अन्तिम रूप दिने जिम्मेवारी दिइएको हो। पोखरेल कार्यदलका सदस्यसचिवसमेत हुन्।
बैठकमा प्रस्तुत दुवै मस्यौदा तथा सदस्यहरूले छलफलका क्रममा दिएका सुझावलाई समेटेर साझा प्रतिवेदन तयार गरिने एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार कार्यदलको छलफलले पार्टी अध्यक्ष परिवर्तनको विषयमा फैलाइएका विभिन्न हल्ला र भ्रमसमेत स्पष्ट पारेको छ।
बैठकमा एमालेको समग्र कार्यशैली, संगठनको वर्तमान अवस्था तथा पार्टी संरचनालाई थप प्रभावकारी बनाउन आवश्यक पुनर्संरचना र पुनर्ताजगीका विषयमा पनि छलफल भएको थियो। संगठनलाई समयअनुकूल बनाउँदै थप सक्रिय र प्रभावकारी ढंगले अघि बढाउने विषयमा सदस्यहरूले सुझाव दिएका थिए।
त्यस्तै, बैठकले वर्तमान सरकारका गतिविधिप्रति पार्टीको धारणा स्पष्ट गर्दै जनपक्षीय मुद्दामा एकताबद्ध भएर अघि बढ्ने निष्कर्ष निकालेको छ। सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ र जुझारु संगठन निर्माण गर्नुपर्ने विषयमा प्राप्त सुझावलाई पनि छलफलमा समेटिएको बस्नेतले बताएका छन्।
अब तीन नेताले दुवै मस्यौदालाई समेटेर तयार पार्ने एकीकृत प्रतिवेदन कार्यदलको आगामी बैठकमा प्रस्तुत गर्नेछन्। कार्यदलको अर्को बैठक असोज १ गते बस्ने तयारी छ। त्यस बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।








Facebook Comments