
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पछिल्लो घटनाक्रमले शक्ति समीकरण बदलिएको संकेत देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका प्रभावशाली नेताहरूको ठूलो समूह सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षसँग नजिकिएको छ।
देउवा समूहका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ३१ भन्दा बढी नेताले पार्टीभित्रको विभाजन रोक्दै एकताको पक्षमा उभिने निर्णय गरेका हुन्। संस्थापन पक्षले असन्तुष्ट पक्षले उठाउँदै आएका ८ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू सानेपास्थित केन्द्रीय कार्यसमितिमा सहभागी हुन तयार भएको बताइएको छ।
देउवाका निकट मानिएका पूर्णबहादुर खड्का, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानियाँ र महालक्ष्मी उपाध्याय ‘डिना’ लगायतका नेताहरूले पार्टीलाई विभाजनको दिशामा जान नदिन एकताको बाटो रोजेका हुन्।
संस्थापन पक्षले आगामी ३ असोजदेखि वडा अधिवेशन सुरु गर्ने तथा असन्तुष्ट पक्षका माग सम्बोधन गर्दै उनीहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने तयारी अघि बढाएपछि नेताहरू सानेपा फर्किन तयार भएको बताइएको छ।
नेता श्याम घिमिरेका अनुसार विज्ञप्तिमा हस्ताक्षर गरेका ३१ जनाबाहेक अन्य नेताहरूसँग पनि छलफल भइरहेको छ। त्यसैले सानेपास्थित केन्द्रीय कार्यसमितिमा सहभागी हुने तत्कालीन केन्द्रीय सदस्यहरूको संख्या ४० भन्दा बढी पुग्न सक्ने सम्भावना रहेको छ।
नेताहरूको ठूलो समूह संस्थापन पक्षमा खुलेर आएपछि पूर्वसभापति देउवा पक्षमाथि भने दबाब बढेको छ। देउवा र शेखर कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका बेला आफ्नै समूहका प्रभावशाली नेताहरूको कित्ता परिवर्तनले देउवा पक्षलाई चुनौती थपिएको हो।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा विकसित पछिल्लो राजनीतिक समीकरणले गगन थापा नेतृत्वको संस्थापन पक्षलाई थप बलियो बनाएको देखिएको छ। साथै, नेताहरूबीचको सहमति र समायोजनले कांग्रेसभित्र देखिएको विभाजनको सम्भावना तत्कालका लागि कमजोर बनेको संकेत गरेको छ।








Facebook Comments