
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीस्वरूप शेरबहादुर देउवा पक्षले केन्द्रीय निर्वाचन समिति संयोजक चयन गरेको छ।
देउवा पक्षले संखुवासभाका एकराज पोख्रेललाई केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी दिएको हो। पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाउने क्रममा निर्वाचनसम्बन्धी कामको नेतृत्व गर्ने जिम्मेवारी पोख्रेललाई दिइएको हो।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार पोख्रेललाई निर्वाचन समिति संयोजक तोकिएको जानकारी दिएका छन्।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
यता कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यहीबीच विशेष महाधिवेशन पक्षधरले पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाएपछि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिसमेत महाधिवेशनको तयारीमा अघि बढ्नुपर्ने अवस्था आएको देउवा पक्षको दाबी छ।
निर्वाचन समिति संयोजक चयनसँगै देउवा पक्षले महाधिवेशनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने संकेत गरेको छ। पार्टीभित्र आधिकारिकता र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद कायमै रहेका बेला निर्वाचन समिति गठनलाई देउवा पक्षको तयारी तीव्र पार्ने कदमका रूपमा हेरिएको छ।








Facebook Comments