काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनामा समेटिन नसकेका अघिल्लो समितिका सदस्यहरूलाई केन्द्रीय समितिमा आउने अवसर दिने निर्णय गरेको हो।

ad

बैठकपछि एक कांग्रेस पदाधिकारीका अनुसार अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा सहभागी भएर आगामी महाधिवेशन आयोजक समितिका रूपमा समेत भूमिका निर्वाह गर्न सक्नेछन्।

उनका अनुसार केन्द्रीय समितिमा रहन इच्छुक नेताहरूले त्यसअनुसार सहभागिता जनाउनेछन् भने इच्छुक नरहेकाहरूले सहभागी नहुने विकल्प पनि खुला रहनेछ। पार्टीले सबैलाई १५औँ महाधिवेशनमा सहभागी हुनसमेत आग्रह गर्ने निर्णय गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको छ।

महाधिवेशनको तयारी अघि बढिरहेका बेला अघिल्लो कार्यसमितिका नेताहरूलाई समेत केन्द्रीय संरचनामा समेट्ने निर्णयलाई पार्टीभित्रको समन्वय र सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ