
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै यसलाई ‘छापा मार सरकार’को संज्ञा दिएका छन्। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सञ्चार क्षेत्रले उठाएको आवाजमा एमालेको पूर्ण समर्थन रहेको बताए।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्षरत रहेको बताए।
सरकारलाई ‘छापा मार सरकार’ भनेको स्पष्ट पार्दै ओलीले भने, ‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकारजस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है, छापा मार सरकार।’
ओलीले छापा पत्रकारितालाई पुरानो वा अप्रासंगिक माध्यमका रूपमा बुझ्न नहुने धारणा राखे। उनका अनुसार डिजिटल माध्यमबाट प्रकाशित सामग्री तत्काल हटाउन सकिने भए पनि छापामा प्रकाशित सामग्री स्थायी दस्तावेजका रूपमा रहने भएकाले यसको छुट्टै महत्व छ।
उनले छापा माध्यममा सामग्री प्रकाशन गर्दा पत्रकार तथा लेखक थप जिम्मेवार हुनुपर्ने बताए। तत्काल हटाउन नसकिने भएकाले छापामा प्रकाशित सामग्रीले दीर्घकालीन अभिलेखको काम गर्ने उनको भनाइ थियो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास संघर्षपूर्ण रहेको उल्लेख गर्दै ओलीले राणा शासनको समयमा पत्रकार, लेखक तथा साहित्यकारहरूले स्वतन्त्रताका लागि ठूलो जोखिम मोलेको स्मरण गरे। उनले एउटा कविता लेखेकै कारण जेल जानुपर्ने र शास्त्रका कुरा वाचन गर्दा समेत मृत्युदण्डको सामना गर्नुपर्ने अवस्थाबाट नेपाली समाज अघि बढेको बताए।
उनले स्वतन्त्रताको पक्षमा भएको संघर्षलाई कमजोर पार्ने प्रयास लामो समय टिक्न नसक्ने दाबी गरे। जनचेतनाको स्तर र स्वतन्त्रताको ऐतिहासिक महत्वबारे समाजमा बढेको बुझाइका कारण स्वतन्त्रताविरोधी कदम धेरै समय कायम रहन नसक्ने उनको भनाइ थियो।
सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई आफ्नो आवाज निरन्तर उठाउन आग्रह गर्दै ओलीले उनीहरूको मागमा एमालेले पूर्ण समर्थन गर्ने बताए।
‘तपाईंहरूको यो आवाज सही छ, यसलाई निरन्तरता राख्नुस्। हाम्रो पूर्ण समर्थन छ, हामी साथ दिन्छौँ,’ उनले भने।
सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल आफूहरूको पनि प्रमुख सरोकार भएको ओलीले बताए। एमालेले विगतमा स्वतन्त्रताका लागि जेल, पिटाइ र यातनासमेत भोगेको उल्लेख गर्दै उनले सञ्चारकर्मीलाई आफ्नो संघर्षमा दृढ भएर अघि बढ्न आग्रह गरे।
सत्य र स्वतन्त्रताको पक्षमा निरन्तर उभिए अन्ततः सफलता प्राप्त हुने ओलीको दाबी थियो।








Facebook Comments