काठमाडौं । गत भदौको जेनजी विद्रोह र त्यसपछि फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा २५ सीटमा खुम्चिएको नेकपा (एमाले)भित्रको आन्तरिक कलह अहिले विस्फोटक मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र पार्टी पुनर्गठनलाई लिएर शीर्ष नेताहरूकै बीचमा सिधा टकराव सुरु भएको बुझिएको छ । गत १० जेठमा गठित ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्य सचिव एवं महासचिव शंकर पोखरेल र संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भिन्दाभिन्दै प्रतिवेदन पेस गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलको राजनीतिक माहोल गर्माएको नेताहरूले बताएका छन् ।

महासचिव शंकर पोखरेलले ६५ पृष्ठ लामो प्रतिवेदन तयार पार्दै ओलीको कार्यशैली र विधान संशोधनमाथि प्रहार गरेका छन् । पोखरेलले ओलीप्रति लक्षित गर्दै पार्टीमा स्वेच्छाचारी प्रवृत्ति, अधिकारको केन्द्रीकरण र ‘गणेश प्रवृत्ति’ मौलाएको ठहर गरेका छन् । ओलीलाई अनुकूल हुनेगरी हटाइएको ‘७० वर्षे उमेर हद’ र ‘बढीमा दुई कार्यकाल’को सीमा पुनः लागू गर्नुपर्ने र दुईपटकभन्दा बढी प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने कडा प्रस्ताव पोखरेलले अघि सारेका छन् । जनतालाई हेपेर बोल्ने शैली बन्द गर्न चेतावनी दिँदै उनले नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे पार्टी पुनर्जागरण असम्भव रहेको निष्कर्ष निकालेका हुन् ।

ad

उता, महासचिव पोखरेलको प्रतिवेदन आउनासाथ रूष्ट बनेका ओली पक्षको बचाउमा संयोजक बादल हात धोएरै लागेका छन् । माओवादीको सैन्य इन्चार्जसम्म भएका उनी पार्टी एकता विफल हुँदा पनि ओलीकै पक्षमा लागेर एमालेमा बसेका थिए । त्यसबापत ओलीकै आशीर्वादमा संसदीय दलको नेतासमेत भएका बादलले अध्यक्षबाहेक अरूलाई गन्नै छाडेको एमालेभित्र चर्चा छ ।

पोखरेलको प्रतिवेदनलाई काउन्टर दिँदै बादलले ३९ पृष्ठको बेग्लै प्रतिवेदन पेस गरी ओलीलाई पदबाट हटाउने कोसिसलाई ‘कुतर्क’ र ‘अनावश्यक बहस’को संज्ञा दिएका छन् । पोखरेलको प्रस्ताव वि.सं. २०७७ मा प्रचण्ड–माधव नेपालले ल्याएको १९ पृष्ठको आरोपपत्रकै झल्को दिने खालको रहेको आरोप लगाउँदै बादलले ७५ प्रतिशत मतबाट निर्वाचित अध्यक्ष ओलीलाई अपदस्त गर्ने खेलले पार्टीलाई अन्तरध्वंसतिर धकेल्ने चेतावनी दिएका छन् । उनले आसन्न स्थानीय र प्रदेशसभा निर्वाचनलाई छाडेर पदीय व्यवस्थापन र आन्तरिक विवादमा अल्झिए पार्टीले थप क्षति व्यहोर्ने दाबी गरेका छन् ।

शुक्रबारको कार्यदल बैठकमा यी दुवै दस्ताबेज सदस्यहरूलाई बाँडिएको छ । प्रचार विभाग प्रमुख नीरज आचार्य र कार्यदल सदस्य शेरधन राईका अनुसार अब दुवै प्रतिवेदनमाथि आवासीय छलफल गराई साझा प्रतिवेदन बनाउने प्रयास गरिनेछ ।