काठमाडौं । गौरवमय इतिहास बोकेको नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुनः सक्रिय राजनीति गर्ने लालसा पार्टीलाई कमजोर बनाउने खेल भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । पार्टीलाई एकताबद्ध बनाएर जनतासँग टुटेको विश्वास पुनस्र्थापित गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने देउवाले उल्टै केही पात्रहरूको उक्साहटमा पार्टीको हितविपरीत गतिविधि गरिरहेका छन् ।

देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने पात्रहरूले पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको कांग्रेसका एक नेताले बताए । संस्थापन पक्ष पार्टीभित्र नीति, विधि र प्रविधिको प्रयोग गरेर अघि बढ्दै कांग्रेसलाई आगामी दिनमा एउटा बलियो दलको रूपमा स्थापित गर्न खोजिरहेको अवस्थामा देउवा पक्षले विभिन्न बखेडा निकालेर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेकोमा पार्टीभित्रै तीव्र आलोचनासमेत भइरहेको छ ।

ad

नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको कांग्रेसलाई कमजोर बनाउने खेलमा सामेल भएकोमा पछिल्लो समयमा देउवालाई उनीनिकट मानिएका नेताहरूले नै धमाधम छाडिरहेका छन् । मुलुकको बदलिँदो परिस्थितिमा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन भई पार्टी १५औँ महाधिवेशनमा होमिइसकेको अवस्थामा समेत समानान्तर गतिविधिमा उत्रिएको देउवा समूहले समग्र पार्टीलाई क्षति पु¥याइरहेको केही राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

देउवा पक्षका अगाडि अब महाधिवेशनमा सामेल भई प्रतिस्पर्धामा उत्रिनुबाहेक अर्को विकल्प छैन, किनकि कांग्रेसको महाधिवेशनको तिथिमितिमा कुनै तलमाथि नहुने सभापति गगन थापाले स्पष्ट पारिसकेका छन् । पार्टीमा असन्तुष्ट पक्षले अघि सारेका अधिकांश माग पूरा गर्न संस्थापन पक्ष तयार देखिँदासमेत महाधिवेशनको मुखमा समानान्तर गतिविधि गर्दै पार्टीलाई कमजोर बनाउने खेलमा देउवा सामेल हुनु दुर्भाग्यपूर्ण रहेको कांग्रेसका एक नेताले देशान्तरलाई बताए ।

५ महिनाको विदेश बसाइपछि गत असार २८ गते नेपाल फर्किएका देउवाले चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी पार्टी सभापतिको बोर्डसमेत राखेर समानान्तर गतिविधि अघि बढाएर जग हँसाउने काम गरिरहेकोमा पनि सर्वत्र आलोचना भइरहेको छ ।