काठमाडौं । ठूलै बाधा अड्चन नआएमा देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज पहिलो साता ३–४ देखि सुरु भएर तेस्रो साता १६–१९ मा सकिनेगरी पार्टीले तयारीलाई तीव्रता दिएको छ । तर, अहिले पनि संस्थापन पक्षले सार्वजनिक गरेको तालिकाअनुसार काम अघि बढ्नबाट रोक्नका लागि असन्तुष्ट पक्ष (शशांक कोइराला र शेरबहादुर देउवा)बाट निरन्तर दाबाब र घुर्की लगाउने काम भइरहेको बुझिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिता दिँदा असोज मसान्तभित्र महाधिवेशन गर्नुपर्ने कुरा नै उल्लेख गरेकाले पार्टीले त्यसैअनुसार सबै कुराहरू टुंग्याउनका लागि आज दिउँसो नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । कार्यसम्पादनपछि सबै विषयहरू प्रस्ट भएपछि असोज ३–४ को वडा अधिवेशन सुरु हुनेछ । अदालतको फैसला र निर्वाचन आयोगको निर्णयका कारण कांग्रेसलाई असोजको समयसीमा भित्रै महाधिवेशन गराउन कानुनी दबाब परेको अवस्थामा अदालतमा मुद्दा पुनरावलोकनको आदेश भए पनि साविकको फैसला र आयोगको निर्णयमा कुनै फेरबदल नभएकाले असोज १६ देखि महाधिवेशनको तालिका निकालेको कांग्रेसले स्पष्ट पारेको हो ।

यति मात्र होइन, नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन अनुसार राजनीतिक दलहरूले निश्चित समयावधिभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगमा दलको अद्यावधिक वैधता कायम राख्न र कानुनी संकटबाट बच्न कांग्रेसलाई तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कांग्रेस नेताहरूले बताएका छन् । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार पनि प्रत्येक राजनीतिक दलले बढीमा साढे ५ वर्ष (५ वर्ष र विशेष परिस्थितिमा थप ६ महिना)भित्र केन्द्रीय पदाधिकारी र सदस्यहरूको निर्वाचन गरिसक्नुपर्छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । यस हिसाबले कांग्रेसको वैधानिक कार्यकाल २०८३ मंसिरमा समाप्त हुँदै छ । यदि उक्त अवधिभित्र महाधिवेशन नभएमा पार्टीको वैधानिकता नै संकटमा पर्न सक्ने कानुनी जोखिमसमेत रहेको एक कानुनविद्ले देशान्तरलाई बताए । सर्वोच्च अदालतको आदेश र पार्टी विधानको रक्षाका लागि पनि तोकिएकै समयमा महाधिवेशन गर्नुको विकल्प नभएको कांग्रेस नेताहरूले बताएका छन् ।

ad

यसबाहेक विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ । त्यसैले कांग्रेसले पुसभित्र १५औँ महाधिवेशन गर्नुपर्ने हुन्थ्यो । तर सर्वोच्च अदालतको आदेशमा उल्लेख भएअनुसार पनि असोजभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने समय चापका कारण कांग्रेसले असोज १६ गतेदेखि १५औँ महाधिवेशन गर्न लागेको कांग्रेस नेताहरूको भनाइ छ । महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने दबाबकै कारण कांग्रेसले विधानका केही सर्त र बुँदाहरू समेत निलम्बन गरेको छ । कांग्रेसको विधानको धारा ३५ (२) (घ) मा महाधिवेशन हुनुभन्दा निश्चित समयअगावै तल्लो तहका सांगठनिक प्रक्रियाहरू पूरा गरिसक्नुपर्ने प्रावधान छ । तर, असोजमै महाधिवेशन गर्नुपर्ने दबाबका कारण केन्द्रीय समितिले उक्त प्रावधानहरू निलम्बन गरी प्रक्रिया छोट्याएको थियो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, पार्टी विधान र अदालतको निर्णयबाट बाँधिएकाले १५औँ महाधिवेशन १ घण्टा पनि नसर्ने बताइसकेका छन् । गत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति थापाले भने, ‘केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोजको १६ गतेबाट महाधिवेशन हुन्छ । तिथि–मिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाएँ, संविधान, पार्टीको विधान र अदालतको फैसलाले बाँधिएका छौँ । महाधिवेशन १ घण्टा पनि सर्दैन ।

रसुवाको भोटेकोशीमा आएको बाढी र आन्तरिक व्यवस्थापनका कारण तल्लो तहको अधिवेशन तालिका केही परिमार्जन गरेको भए पनि केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिएको छ । कांग्रेसको परिमार्जित कार्यतालिकाअनुसार दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा सातै प्रदेशको अधिवेशन अब केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि मात्र हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन प्रक्रियालाई छोट्याउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा गत मंगलबार पार्टीको निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ गतेदेखि सुरु हुनेछ । त्यसपछि असोज ७ गते गाउँ तथा नगर अधिवेशन र असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिनेछ ।

केन्द्रीय महाधिवेशन भने यसअघि तय भएको मितिमै हुनेछ । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारीलाई यथावत् राखेको छ । नयाँ व्यवस्थाअनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशनअघि नै सम्पन्न हुनेछ । ती जिल्लामा क्षेत्रीय अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनको प्रक्रिया पूरा भएको मानिनेछ ।

तर दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्लाको जिल्ला अधिवेशन र सातै प्रदेशको अधिवेशन महाधिवेशनपछि दोस्रो चरणमा गर्ने निर्णय भएको छ । कांग्रेसले महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोटलाई अहिलेको मुख्य प्राथमिकता बनाएको छ । पार्टीका अनुसार केन्द्रीय महाधिवेशन सम्पन्न गर्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनु अनिवार्य भएकाले सीमित समयमै सो प्रक्रिया पूरा गर्न कार्यतालिका परिमार्जन गरिएको हो ।

छोटो अवधिमा वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका सबै अधिवेशन सम्पन्न गर्न कठिन देखिएपछि कांग्रेसले तत्कालका लागि महाधिवेशन प्रतिनिधि चयन हुने तहसम्मको निर्वाचनलाई प्राथमिकतामा राख्दै अधिवेशन प्रक्रिया अगाडि बढाउने रणनीति कांग्रेसले बनाएको हो ।

यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बोलाएको छ । पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन् । कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।