काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभामा बिहीबार दिएको अभिव्यक्तिले सरकार सञ्चालनको शैलीमाथि नयाँ प्रश्न उठाएको छ। उनले प्रधानमन्त्रीको सचिवालय र राज्यका अनुसन्धान निकायबीचको सम्बन्धबारे गम्भीर आरोप लगाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक गजेन्द्र ठाकुरलाई मध्यराति ज्वागल बोलाएर पेस्तोल देखाउँदै रेड कर्नर नोटिस जारी गर्न दबाब दिइएको दाबी गरेका छन्।

सिंहले संसद्मा कसैको नाम लिएर घटना विस्तारमा सुनाउन नचाहेको भन्दै सम्पत्ति शुद्धीकरणका महानिर्देशकलाई राति १ बजे बोलाएर दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न निर्देशन दिइएको बताएका थिए।

ad

उनको यो अभिव्यक्तिपछि अहिले मुख्य प्रश्न उठेको छ– सिंहले उल्लेख गरेका महानिर्देशक को हुन् र उनले यस्तो संवेदनशील सूचना कहाँबाट पाए?

अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक निर्मल ढकाल छन्। तर सिंहले संसद्मा संकेत गरेको घटना ढकालको कार्यकालको नभई उनीभन्दा अघिका महानिर्देशक गजेन्द्र ठाकुरसँग जोडिएको स्रोतको दाबी छ।

ठाकुर महानिर्देशक रहेका बेला उनलाई ज्वागलस्थित प्रधानमन्त्रीनिकट व्यक्तिको निवासमा मध्यराति बोलाइएको र त्यहाँ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा आरजु राणाविरुद्ध रेड कर्नर नोटिसको प्रक्रिया अघि बढाउन दबाब दिइएको बताइएको छ।

ठाकुरको कार्यकालमा देउवा दम्पतीविरुद्ध रेड नोटिसको प्रयास
स्रोतका अनुसार ठाकुरलाई पर्याप्त आधारबिना देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाउन दबाब दिइएको थियो। त्यसपछि ठाकुरले इन्टरपोललाई आवश्यक पत्राचार गरेका थिए।

तर इन्टरपोलले पर्याप्त आधार नपुगेको भन्दै रेड कर्नर नोटिस जारी नगरेको बताइएको छ।

ठाकुरसँग त्यसबेला काम गरेका कर्मचारीहरूका अनुसार महानिर्देशक कार्यालयमा आउँदा प्रायः तनावमा देखिन्थे। उनी निकट व्यक्तिहरूसँग आफूलाई ज्यानको खतरा रहेको बताउने गरेको एक पूर्वकर्मचारीले जानकारी दिए।

ती कर्मचारीका अनुसार ठाकुरले ‘आफूलाई मार्न सक्छन्’, ‘गोली हान्न सक्छन्’ भन्ने आशयका कुरा गर्ने गरेका थिए। यद्यपि उनले यस्तो त्रास कुन घटनाका कारण व्यक्त गरेका थिए भन्ने स्पष्ट छैन।

ठाकुर निकट स्रोतले भने सरकारी निकायका उच्च अधिकारीमाथि दबाब दिने अन्य घटनाले समेत उनको मनोवैज्ञानिक अवस्थामा असर परेको हुनसक्ने बताएको छ।

अमरेशसँग ठाकुरको सम्पर्क थियो?
अहिलेको मुख्य चासो अमरेशले संसद्मा उठाएको घटनाको स्रोत के हो भन्नेमा छ।

ठाकुरसँग त्यतिबेला काम गरेका र अहिले अन्यत्र सरुवा भएका एक कर्मचारीका अनुसार ठाकुरले आफूले भोगेको दबाबबारे अमरेशलाई जानकारी गराएको हुनसक्छ। ठाकुर मधेश मूलका भएकाले मधेशका राजनीतिक नेताहरूसँग उनको सम्पर्क रहने गरेको र त्यही क्रममा सिंहसम्म सूचना पुगेको हुनसक्ने ती कर्मचारीको अनुमान छ।

यही कारण सिंहले संसद्मा ज्वागलको घटना उठाएको हुनसक्ने स्रोतको भनाइ छ।

तर सिंहले भने आफूले सूचना कसरी प्राप्त गरे भन्नेबारे सार्वजनिक रूपमा विस्तृत विवरण दिएका छैनन्। उनले संसद्मा घटना उल्लेख गर्न नचाहेको भन्दै त्यसको संवेदनशीलता संकेत गरेका थिए।

‘पेस्तोल’ कि राजनीतिक दबाब?
सिंहको दाबीमा सबैभन्दा गम्भीर पक्ष नै पेस्तोल तेर्स्याइएको प्रसंग हो। तर ठाकुरको कञ्चटमा वास्तवमै पेस्तोल दागिएको थियो कि उनलाई राजनीतिक वा प्रशासनिक दबाब मात्र दिइएको थियो भन्ने स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन।

तर ठाकुरमाथि अनुसन्धानका विषयमा दबाब आएको र उनले पछि सरुवा मागेको प्रसंग भने स्रोतहरूले बताएका छन्।

ठाकुरले प्रधानमन्त्रीका सल्लाहकार तथा निकटस्थ व्यक्तिबाट विभिन्न व्यक्तिलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तान्न र पक्राउ गर्न दबाब आउने गरेको भन्दै सरुवा मागेको बताइन्छ।

‘फलानोलाई अनुसन्धानका लागि तान्नुपर्‍यो, पक्राउ गर्नुपर्‍यो’ भन्ने शैलीमा निर्देशन आउने गरेको उनको गुनासो रहेको स्रोतको भनाइ छ।

ठाकुर अहिले भरतताल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा खेपिरहेका छन्।

सिंहको निशानामा बालेन सरकार
अमरेशले पछिल्लो समय प्रधानमन्त्री बालेन नेतृत्वको सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठाउँदै आएका छन्। उनले सरकार मधेशप्रति अनुदार भएको आरोप लगाउँदै सुनसरी र सिरहामा युवाको मृत्यु, सीमावर्ती क्षेत्रमा किनमेलमा गरिएको कडाइ तथा मधेशी मूलका कर्मचारी र मन्त्रीहरूमाथि भएका भनिएका व्यवहारका विषय संसद्मा उठाएका छन्।

मधेशी मूलका दुई मन्त्रीलाई हटाइएको, गौरीकुमारीलाई मन्त्री क्वार्टरबाट पक्राउ गर्न प्रहरी परिचालन गरिएको र मधेशी मूलका सचिवलाई एउटा एसएमएसकै आधारमा पक्राउ गरी थुनिएको भन्दै उनले सरकारको आलोचना गर्दै आएका छन्।

सिंहले आफू सरकार असफल होस् भन्ने पक्षमा नरहेको र प्रधानमन्त्री तथा सरकार सफल होस् भन्ने चाहना रहेको बताएका छन्। तर सरकारका गलत गतिविधिको विरोध गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ।

उनले मधेशी जनताको मतबाट प्रधानमन्त्री बनेका बालेनले मधेशमाथिको विभेद र अत्याचार अन्त्य नगरे त्यसको राजनीतिक परिणाम पनि मधेशबाटै आउने चेतावनी दिएका छन्।

सरकार मौन, प्रश्न भने गम्भीर
सिंहले संसद्मा उठाएको ज्वागल घटनाबारे प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्रीका सल्लाहकारबाट अहिलेसम्म सार्वजनिक रूपमा विस्तृत खण्डन आएको छैन। आरोप पुष्टि गर्ने स्वतन्त्र प्रमाण पनि सार्वजनिक भएको छैन।

त्यसैले अहिलेको विवादको केन्द्रमा दुईवटा प्रश्न छन्—गजेन्द्र ठाकुरलाई वास्तवमै मध्यराति ज्वागल बोलाइएको थियो कि थिएन र त्यहाँ उनीमाथि कस्तो दबाब दिइएको थियो?

यदि सिंहले दाबी गरेजस्तै पेस्तोल देखाएर रेड कर्नर नोटिस जारी गर्न दबाब दिइएको हो भने यो राज्यको अनुसन्धान निकायमाथि भएको अत्यन्त गम्भीर हस्तक्षेपको विषय बन्न सक्छ। तर यदि पेस्तोलको प्रसंग पुष्टि हुँदैन भने पनि उच्च सरकारी अधिकारीलाई राजनीतिक दबाबमा अनुसन्धानको दिशा परिवर्तन गर्न खोजिएको हो कि होइन भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण रहनेछ।

ठाकुरको कार्यकालका निर्णय, इन्टरपोललाई पठाइएको पत्र, ज्वागलमा भएको भनिएको भेटघाट र त्यसबेलाका आधिकारिक तथा अनौपचारिक सम्पर्क विवरण सार्वजनिक भएमा सिंहले संसद्मा उठाएको आरोपको वास्तविकता थप स्पष्ट हुन सक्छ।