काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक विवाद र महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिलाई समेत बोलाइएको छ।

ad

पार्टीभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर फरक धारणा सार्वजनिक भइरहेका बेला कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशनसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ छलफल गर्ने तयारी कांग्रेसले गरेको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे पनि बैठकमा छलफल हुने बताइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक अवस्थाबारे प्रदेश नेतृत्वको धारणा समेत बैठकमा लिने तयारी रहेको नेताहरूले बताएका छन्।

सातै प्रदेशका सभापतिलाई बैठकमा आमन्त्रण गरिएकाले महाधिवेशनको तयारी, संगठनको अवस्था र पार्टीभित्र देखिएको विवादबारे प्रदेश तहको धारणा पनि बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको आगामी कार्यतालिका तथा पार्टीभित्र देखिएका विवाद समाधानका विषयमा थप निर्णय गर्ने सम्भावना रहेको कांग्रेस स्रोतले जनाएको छ।

पार्टीको महाधिवेशन कहिले र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा कांग्रेसभित्र लामो समयदेखि मतभेद रहँदै आएको छ। यही पृष्ठभूमिमा बस्न लागेको बैठकलाई पछिल्लो आन्तरिक राजनीतिक अवस्थाबारे पार्टीको औपचारिक धारणा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।