
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफूलाई स्थापित राजनीतिक दलका रूपमा प्रमाणित गर्ने महत्वपूर्ण चरणमा रहेको बताएका छन्।
चालिसेले असन्तुष्टि र विरोधबाट मात्रै कुनै राजनीतिक दल दीर्घकालीन रूपमा बलियो बन्न नसक्ने धारणा राखेका छन्। उनका अनुसार जनअसन्तुष्टिले राजनीतिक शक्ति निर्माण गर्न सहयोग गरे पनि त्यसलाई संस्थागत गर्न विचार, संगठन, अनुशासन र राजनीतिक संस्कार आवश्यक पर्छ।
रास्वपा पुराना सरकारका कमजोरी र जनताको असन्तुष्टिलाई आधार बनाएर उदाएको उल्लेख गर्दै चालिसेले अब उसमाथि आफ्नै कार्यसम्पादनको मूल्यांकन हुने अवस्था आएको बताएका छन्। विपक्षमा रहँदा अरूलाई प्रश्न गर्ने राजनीतिक शैली अपनाएको रास्वपाले अहिले सरकार तथा शासन सञ्चालनको जिम्मेवारी पाएपछि जनताका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ छ।
उनले विगतका सरकारका कमजोरी औंल्याउँदैमा नयाँ शासन स्वतः सफल नहुने टिप्पणी गरेका छन्। सरकारमा पुगेपछि पार्टीले उठाउँदै आएका मुद्दा, गरेका प्रतिबद्धता र वास्तविक कार्यसम्पादनबीचको तुलना हुन थालेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्नु र राजनीतिक संगठन सञ्चालन गर्नु फरक विषय भएको उल्लेख गर्दै चालिसेले विरोधको राजनीति भन्दा जिम्मेवारीसहितको राजनीति कठिन हुने बताएका छन्। उनका अनुसार असन्तुष्टि सत्ता प्राप्तिको आधार बन्न सक्ने भए पनि सत्ता सञ्चालनका लागि छुट्टै क्षमता, संगठन र जवाफदेहिता आवश्यक हुन्छ।
रास्वपाले अब आफूलाई केवल असन्तुष्टिको प्रतिनिधि शक्तिका रूपमा सीमित राख्ने कि पूर्ण राजनीतिक दलका रूपमा स्थापित गर्ने भन्ने निर्णय गर्नुपर्ने चालिसेको निष्कर्ष छ।
उनले रास्वपालाई राजनीतिक दलका रूपमा सफल होस् भन्ने शुभकामना दिँदै दलको वास्तविक क्षमता भने परीक्षा र कार्यसम्पादनबाट प्रमाणित हुने बताएका छन्।









Facebook Comments