जनकपुरधाम — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले मधेश र मधेशी समुदायमाथि नै पहिलो प्रहार गरेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आशा र विश्वासका साथ रास्वपालाई मत दिएका मधेशी जनता अहिले सरकारका निर्णयबाट सबैभन्दा बढी प्रभावित भएको दाबी गरे।

ad

उनले सरकारको नीति गरिब, मजदुर र किसानको हितविपरीत रहेको आरोप लगाए। विशेषगरी भारतसँग जोडिएका सीमाक्षेत्रमा बसोबास गर्ने मधेशी नागरिकले भोग्नुपर्ने समस्या नबुझी सरकारले भारतबाट सामान ल्याउँदा कर लगाउने नीति अघि सारेको भन्दै उनले असन्तुष्टि जनाए।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको प्रसंग निकाल्दै प्रचण्डले उक्त भनाइले मधेशी जनताको भावनामा चोट पुगेको बताए। उनका अनुसार सीमा क्षेत्रमा रहेर नेपालको भूभागको रक्षा गर्दै आएका मधेशी नागरिकप्रति नै यस्तो टिप्पणी गर्नु अपमानजनक छ।

मधेशबाटै आफ्नो समुदायको व्यक्ति प्रधानमन्त्री बन्ने अपेक्षासहित जनताले मतदान गरे पनि त्यसको परिणाम उल्टै मधेशवासीमाथि प्रहारका रूपमा देखिएको प्रचण्डको दाबी छ।

सरकारको बजेट विनियोजन र विभिन्न निकायमा भएका नियुक्तिसमेत मधेशप्रति पूर्वाग्रही रहेको उनले आरोप लगाए। समयक्रममा मधेशका जनताले आफूहरूले गरेको मतदानबारे पुनर्विचार गर्ने उनको भनाइ थियो।

प्रचण्डले सरकारका गतिविधिप्रति असन्तुष्टि बढ्दै गए फेरि जेनजी युवाहरूबाट सरकारविरुद्ध विद्रोह हुनसक्ने दाबीसमेत गरे।

सरकार मधेशविरोधी भएको महसुस भएपछि रास्वपाकै केही सांसदले सरकारको विरोध गर्न थालेको उनको जिकिर थियो। मधेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई अपमानजनक ढंगले हटाइएको दाबी गर्दै उनले यस घटनाले पनि मधेशी जनतालाई सरकारको व्यवहार बुझ्न सहज बनाएको बताए।

उनले आगामी दिनमा मधेशका नागरिक नै सरकारका गतिविधिविरुद्ध संगठित रूपमा आवाज उठाउने दाबीसमेत गरे।