
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका सात जना नेतालाई पार्टीका कुनै पनि गतिविधिमा सहभागी नगराउन सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टीका कार्यक्रम तथा गतिविधिमा संलग्न नगराउन निर्देशन दिएका हुन्।
पार्टीको निर्णयअनुसार उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको राप्रपाले जनाएको छ।
त्यस्तै, मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङमाथि भने पार्टीको कारबाही प्रक्रिया अघि बढिरहेको पत्रमा उल्लेख छ।
महामन्त्री गुरुङले सम्बन्धित जिल्ला समितिहरूलाई पत्राचार गर्दै कारबाहीमा परेका तथा प्रक्रियामा रहेका नेताहरूलाई पार्टीका बैठक, कार्यक्रम, संगठनात्मक गतिविधि तथा अन्य कुनै पनि आधिकारिक गतिविधिमा सहभागी नगराउन स्पष्ट निर्देशन दिएका छन्।
राप्रपाको पछिल्लो निर्णयले पार्टीभित्र अनुशासनसम्बन्धी विषयमा नेतृत्वले कडाइ गर्न थालेको संकेत गरेको छ। जिल्ला समितिहरूलाई पठाइएको पत्रमार्फत पार्टीले कारबाहीसम्बन्धी निर्णय कार्यान्वयनमा लैजानसमेत ताकेता गरेको देखिन्छ।









Facebook Comments