
काठमाडौं — बजारमा ग्यास अभाव देखिएपछि सरकारले अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ। नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको आगमनसँगै ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले सिलिण्डर लुकाएर राखिएको हुनसक्ने आशंकामा विभिन्न स्थानमा छापा मार्न थालिएको हो।
पूर्वमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि ग्यास आपूर्तिसम्बन्धी विषय थप चर्चामा आएको छ। आपूर्ति व्यवस्थापनमा कर्मचारीबाट असहयोग भएको आरोप लगाउँदै व्यवसायीप्रति विवादास्पद अभिव्यक्ति दिएपछि यादवमाथि चौतर्फी आलोचना भएको थियो।
यद्यपि, सरकारी तथ्यांकले पछिल्ला महिनामा नेपालमा भित्रिने ग्यासको परिमाण विगतको तुलनामा बढेको देखाउँछ। आपूर्ति पर्याप्त हुँदाहुँदै बजारमा अभाव देखिन थालेपछि ग्यासको वितरण प्रणाली र व्यवसायीको भूमिकामाथि समेत प्रश्न उठेको छ।
यहीबीच सरकारले थालेको अनुगमनका क्रममा ठूलो संख्यामा ग्यास सिलिण्डर लुकाएर राखिएको भेटिन थालेको हो। यसले बजारमा देखिएको अभाव आपूर्तिको कमी मात्र नभई बिक्री वितरणमा हुने अनियमितताका कारण पनि हुनसक्ने आशंका बढाएको छ।
उपत्यकामा सयौँ सिलिण्डर बरामद
शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानमा छापा मारेर लुकाइराखिएका ३७२ थान ग्यास सिलिण्डर बरामद गरेको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँट र सामाखुशी क्षेत्रका ग्यास बिक्री केन्द्रमा अनुगमन गरिएको थियो। नरेफाँटमा रहेको रामेछाप ब्रान्डको ग्यास डिलरबाट सिलिण्डर लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
यस्तै, बसुन्धरास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
ग्यासको आपूर्ति पर्याप्त रहेको सरकारी तथ्यांक र बजारमा देखिएको अभावबीचको अन्तरबारे अनुसन्धान अघि बढिरहेका बेला ठूलो संख्यामा सिलिण्डर लुकाइएको भेटिनुले ग्यास वितरण प्रणालीमाथि थप निगरानी आवश्यक देखिएको छ।
सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा उपभोक्तालाई सहज रूपमा बिक्री नगर्ने व्यवसायीमाथि कारबाही गर्ने संकेत दिएको छ। आगामी दिनमा उपत्यकासहित देशका अन्य क्षेत्रमा समेत अनुगमनलाई थप व्यापक बनाउने तयारी गरिएको छ।









Facebook Comments