
ललितपुर — नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक बादलले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। तीमध्ये एउटा उनले आफ्नै तर्फबाट तयार पारेको र अर्को महासचिव पोखरेलको तर्फबाट तयार गरिएको प्रतिवेदन रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
बैठकमा दुवै प्रतिवेदनका विषयवस्तुमाथि छलफल भएको थियो। छलफलपछि कार्यदलले दुवै दस्तावेजमा समेटिएका विषयलाई समेटेर साझा तथा एकीकृत प्रतिवेदन तयार गर्ने निष्कर्ष निकालेको हो।
आचार्यका अनुसार कार्यदलका सदस्यहरूले शुक्रबार प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गर्नेछन्। त्यसपछि शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ।
कार्यदलले तयार पार्ने एकीकृत प्रतिवेदनमा दुवै दस्तावेजमा उठाइएका विषय तथा सुझावहरू समेटिने बताइएको छ। अन्तिम प्रतिवेदन तयार भएपछि त्यसलाई एमाले सचिवालयमा पेश गरिनेछ।
एमालेले निर्वाचनमा पार्टीको प्रदर्शन, त्यसको समीक्षा तथा आगामी दिनमा पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको हो।









Facebook Comments