काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्। नियुक्तिपछि साहले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन्।

ad

यसअघि आजै गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। यादवको राजीनामापछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिइएको हो। साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

काे हुन् साह ?

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहको सिफारिसमा साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो।

साह प्राविधिक पृष्ठभूमिका सांसद हुन्। उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक गरेका थिए।

त्यसपछि उनले प्राकृतिक स्रोतको विकास र उपयोगसँग सम्बन्धित अध्ययनलाई निरन्तरता दिएका छन्। सन् २०२५ मा नेपाल खुला विश्वविद्यालयबाट ‘नेचुरल रिसोर्स डेभलपमेन्ट’ विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

जलविद्युत् क्षेत्रमा लामो अनुभव

राजनीतिमा सक्रिय हुनुअघि साहले जलविद्युत् क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए। ऊर्जा क्षेत्रको विकास, व्यवस्थापन तथा प्राविधिक पक्षमा लामो समय काम गरेको अनुभवका कारण उनी इन्जिनियरिङ तथा ऊर्जा क्षेत्रसँग परिचित व्यक्तिका रूपमा चिनिन्छन्।

सांसद बनेपछि पनि साहले संसद्मा ऊर्जा, पूर्वाधार तथा विकाससँग सम्बन्धित विषयमा प्राविधिक र तथ्यमा आधारित धारणा राख्दै आएका थिए।

अब उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएसँगै उनको प्राविधिक अनुभव र प्राकृतिक स्रोतसम्बन्धी अध्ययनलाई औद्योगिक नीति तथा उत्पादनमूलक क्षेत्रमा कसरी उपयोग गर्छन् भन्ने चासोको विषय बनेको छ।

विभिन्न राजनीतिक दल हुँदै रास्वपासम्म

साहको राजनीतिक यात्रा पनि विभिन्न राजनीतिक संगठन हुँदै अघि बढेको देखिन्छ। उनले सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

पछि सिके राउत नेतृत्वको जनमत पार्टीमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका साह पछिल्लो निर्वाचनमा भने रास्वपाबाट उम्मेदवार बने।

२०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी सुनसरी–४ बाट निर्वाचित भएका हुन्।

प्राविधिक शिक्षा, जलविद्युत् क्षेत्रमा लामो व्यावसायिक अनुभव र विभिन्न राजनीतिक जिम्मेवारी सम्हालेका साहका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने नयाँ परीक्षणका रूपमा रहनेछ। अब उनको मुख्य चुनौती आफ्नो प्राविधिक ज्ञान र अनुभवलाई उद्योग तथा व्यापार नीतिमा कत्तिको प्रभावकारी रूपमा रूपान्तरण गर्न सक्छन् भन्ने हुनेछ।