काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमा मागेकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता विषयमा थप संवेदनशील र सचेत रहने बताइन्।

ad

उनले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।”

मन्त्री गौतमले भदौ २३ गते आयोजित कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको आशय व्यक्त गरेको भन्दै आलोचना भएको थियो। तर उनले आफूले राष्ट्रिय सभालाई ‘असहयोगी’ भनेको दाबी अस्वीकार गरिन्।

आफ्नो भनाइलाई विभिन्न माध्यमबाट फरक अर्थमा व्याख्या गरिएको दाबी गर्दै उनले संसद्का दुवै सदनबीच सहकार्य अपरिहार्य रहेको स्पष्ट पारिन्। जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण तथा संविधान संशोधनका विषयमा आफूले तथ्यभन्दा बाहिर गएर अभिव्यक्ति नदिएको उनको भनाइ थियो।

“मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन। माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,” उनले भनिन्।

कानुन निर्माण प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले प्रक्रिया आफैंमा जटिल रहेको मन्त्री गौतमले बताइन्। प्रतिनिधिसभाले दुई तिहाइ बहुमतबाट पारित गरे पनि कानुन निर्माणका लागि दुवै सदनबीच समन्वय र सहकार्य आवश्यक हुने उनले उल्लेख गरिन्।

आफ्नो अभिव्यक्तिबारे पत्रकार, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएको उल्लेख गर्दै गौतमले त्यसबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए आफू दुःखी रहेको बताइन्।

यद्यपि, आफूले नबोलेका कुराको जिम्मेवारी लिन नसक्ने उनको स्पष्टोक्ति थियो। आफ्नो भनाइको सीमाभित्र रहेर उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताउँदै उनले आगामी दिनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।

“हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,” उनले भनिन्।

मन्त्री गौतमले पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भइरहेको गुनासोप्रति पनि ध्यानाकर्षण गराउँदै विधेयक तथा कानुन निर्माणलाई छिटोछरितो बनाउन दुवै सदनबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन्।