
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त निजी क्षेत्रका संरचना पुनर्निर्माण भएर सञ्चालनमा आइसक्दा सरकारी संरचना भने अझै पुनर्निर्माणको पर्खाइमा रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले नक्सालस्थित भाटभटेनीलगायतका निजी क्षेत्रका व्यापारिक संरचना क्षति भएको एक वर्ष नपुग्दै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको उल्लेख गरे। निजी क्षेत्रले देखाएको पुनर्निर्माणको गति प्रशंसनीय रहेको उनको भनाइ थियो।
तर, सिंहदरबार र गृह मन्त्रालयजस्ता राज्यका महत्वपूर्ण संरचनाको अवस्था अझै उस्तै रहेको भन्दै उनले सरकारको पुनर्निर्माण प्रक्रियामाथि प्रश्न उठाए।
आचार्यले भने, 'भदौ २४ को विध्वंसपछि खरानी बनेका व्यापारिक केन्द्रहरू अहिले थप बलियो संरचनासहित उठिसकेका छन्। निजी क्षेत्रको यो ऊर्जा देखेर गर्व लाग्छ। तर सिंहदरबार प्रवेश गर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै बेवारिसे देखिन्छ।'
नयाँ संसद् भवनमा बैठक सञ्चालन गर्ने घोषणा गरिए पनि अझै अस्थायी भवनबाटै प्रतिनिधिसभाको कामकारबाही सञ्चालन भइरहेकोप्रति पनि उनले असन्तुष्टि जनाए।
राज्यका प्रमुख प्रशासनिक संरचना र सार्वभौम संसद्कै पुनर्निर्माणमा ढिलाइ भइरहेको अवस्थामा प्राकृतिक विपद्बाट प्रभावित रसुवा र नुवाकोटका नागरिकले सरकारको पुनर्निर्माणप्रति कसरी विश्वास गर्ने भन्ने प्रश्नसमेत आचार्यले उठाए।
उनले निजी क्षेत्रले क्षतिग्रस्त संरचना छोटो समयमै पुनर्निर्माण गर्न सक्ने तर सार्वजनिक संरचनाको पुनर्निर्माण सुस्त हुनुका कारण सरकारले गम्भीरतापूर्वक खोज्नुपर्ने बताए।
राज्यका महत्वपूर्ण संरचनाको पुनर्निर्माणमा देखिएको ढिलाइले सरकारको कार्यक्षमता र विपद्पछिको पुनर्निर्माण योजनामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको उनको भनाइ थियो।









Facebook Comments