काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार संविधानको भावना र प्रावधानअनुसार अघि नबढेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले देश एकातिर बाढीपहिरोलगायत प्राकृतिक विपद्को चपेटामा परेको र अर्कोतर्फ सरकारको कार्यशैलीप्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए।

ad

उनका अनुसार विपद्का कारण मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुगेको अवस्थामा राज्य संयन्त्र थप जिम्मेवार भएर अघि बढ्नुपर्ने थियो। तर, सरकार संविधानको मर्मअनुसार सञ्चालन हुन नसकेको उनको दाबी छ।

सिंहले निर्वाचनका क्रममा संविधान परिवर्तन गर्ने विषयमा जनतासँग प्रतिबद्धता नगरिएको उल्लेख गर्दै अहिले संविधानको मूल भावना कमजोर पार्ने काम भइरहेको आरोप लगाए।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीमार्फत सरकार सञ्चालन हुने भए पनि वर्तमान अवस्थामा निर्णय प्रक्रियामा सल्लाहकारहरूको प्रभाव बढेको टिप्पणी गरे। सरकारको निर्णय र गतिविधिको केन्द्र काठमाडौंको ज्वागलतर्फ सरेको भन्दै उनले यसलाई ‘हुकुमी शासन’तर्फ उन्मुख प्रवृत्तिका रूपमा चित्रण गरे।

देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला सरकार संविधान, लोकतान्त्रिक मूल्य र संसदीय व्यवस्थाको मूल मर्मअनुसार चल्नुपर्नेमा उनले जोड दिए।