स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू आवश्यक परे थप लचिलो भएर अघि बढ्न तयार रहेको बताएका छन्।

कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टीभित्रका कमजोरी सुधार्दै संगठनलाई बलियो बनाउने जिम्मेवारी आफूले गम्भीरतापूर्वक लिएको बताए।

ad

उनले पार्टी एकताका लागि आफू नरम बन्न तयार रहे पनि आवश्यक ठाउँमा पार्टी सुधारका विषयमा कडा निर्णय लिन पछि नहट्ने स्पष्ट पारे। ‘पार्टीलाई एकताबद्ध गर्न नरम हुन तयार छु,’ उनले भने, ‘पार्टीभित्रका कमी–कमजोरी हटाउन आवश्यक परे निर्मम भएर पनि अघि बढ्नुपर्छ।’

सभापतिको जिम्मेवारीमा रहेकाले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने विषयलाई प्राथमिकतामा राख्ने थापाको भनाइ थियो। पार्टीको हितलाई केन्द्रमा राखेर सबै पक्षलाई समेट्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

देशमा जटिल परिस्थिति आउँदा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै समस्या समाधानमा योगदान दिएको उल्लेख गर्दै थापाले आगामी दिनमा पनि नागरिकको विश्वास र भरोसा कायम गर्ने गरी पार्टी अघि बढ्ने बताए।

उनले स्वर्गीय गोपालमान श्रेष्ठले कांग्रेसलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्मरणसमेत गरे।

विपद्को समयमा सरकारको आलोचना वा टिप्पणी गर्नुभन्दा प्रभावितको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने थापाको धारणा थियो।

शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले श्रेष्ठले पार्टी र नेपालको राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।