
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरमा बुधबार आयोजित १३३औँ बीपी जयन्तीसम्बन्धी कार्यक्रममा बोल्दै देउवाले कांग्रेसको नाम, चारतारे झन्डा र रुख चिह्नमाथिको आफ्नो समूहको दाबी अदालतबाट स्थापित हुने बताए।
विशेष महाधिवेशन बोलाउने क्रममा पार्टी विधानअनुसारको प्रक्रिया पूरा नगरिएको दाबी गर्दै देउवाले त्यसविरुद्ध आफूहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतमा कानुनी चुनौती दिएको स्मरण गरे। उनका अनुसार सर्वोच्च अदालतले मुद्दामा पुनरावलोकनका लागि निस्सा प्रदान गर्नु आफ्नो पक्षका लागि सकारात्मक संकेत हो।
‘मलाई विश्वास छ– सर्वोच्च अदालतले मलाई न्याय दिनेछ,’ देउवाले भने, ‘जतिसुकै षड्यन्त्र गरे पनि देशको सर्वोच्च अदालत भएकाले मैले न्याय पाउँछु भन्ने विश्वास छ।’
विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको सनाखत र आवश्यक प्रक्रिया पूरा नगरिएको उनको आरोप छ। विगतमा पनि महाधिवेशन बोलाउँदा प्रतिनिधिहरूको वैधानिकता सुनिश्चित गर्ने अभ्यास रहेको उल्लेख गर्दै देउवाले अहिले भने प्रक्रिया मिचिएको दाबी गरे।
उनले विशेष महाधिवेशनसम्बन्धी निर्णयविरुद्ध आफूहरू कानुनी उपचारमा गएको र सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिनुलाई ‘आधा विजय’का रूपमा व्याख्या गरे।
आफ्नो राजनीतिक जीवनमा सर्वोच्च अदालतबाट पटक–पटक न्याय पाएको प्रसंग उल्लेख गर्दै देउवाले पञ्चायतकालदेखि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालसम्म अदालतले आफूलाई राहत दिएको बताए। कठिन राजनीतिक परिस्थितिमा समेत अदालतले संविधान र न्यायको पक्षमा निर्णय गरेको उनको भनाइ थियो।
पार्टीको आधिकारिकता विवादमा पनि अन्ततः सत्यको पक्षमा फैसला आउने देउवाले दाबी गरे। ‘सर्वोच्चले जसरी निष्पक्ष रूपमा हामीलाई पुनरावलोकनको निस्सा दिएको छ, त्यसरी नै रुख चिह्न र चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ उनले भने।
कार्यक्रममा देउवाले कांग्रेसको आगामी १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। उनले देशभरका नेता–कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा महाधिवेशनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।








Facebook Comments