
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको सुरक्षित बसोबास, सडक तथा यातायात सञ्चालन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्।
भौगोलिक रूपमा कठिन क्षेत्रमा पुनर्निर्माणको काम चुनौतीपूर्ण रहेकाले तत्कालीन आवश्यकतासँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढाउनुपर्नेमा उनले जोड दिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा आफूले नागरिकको अवस्था र भौतिक संरचनामा पुगेको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै पौडेलले जनजीवन सामान्य बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।
विशेषगरी सडक तथा यातायात सेवा अवरुद्ध हुँदा प्रभावित नागरिकको दैनिकी र राहत व्यवस्थापनमा थप कठिनाइ उत्पन्न भएकाले वैकल्पिक मार्ग तथा पुल निर्माणमा तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
ठूला बेलीब्रिज निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिन सुझाव
राष्ट्रपति पौडेलले भौगोलिक विकटता र क्षतिको व्यापकतालाई ध्यानमा राख्दै आवश्यक परे ठूला बेलीब्रिजलगायतका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सुझाव दिएका छन्।
जलवायु परिवर्तनका कारण नेपालले बढ्दो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति तथा सहयोग प्राप्त गर्ने विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्ने बताए।
मन्त्रीहरूसँगको छलफलमा सडक यातायातलाई दसैँअघि नै पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराइएको थियो।
बाढी प्रभावित नागरिकलाई तत्काल बसोबासको व्यवस्था गर्न अस्थायी टहरा तथा क्याप्सुल होम निर्माणको काम तीव्र रूपमा भइरहेको मन्त्रीहरूले जानकारी दिएका थिए।
सरकारले प्रभावित क्षेत्रलाई जोड्ने वैकल्पिक सडक निर्माणलाई समेत प्राथमिकता दिएको बताइएको छ। लामो दूरीका बेलीब्रिज निर्माणका लागि मित्रराष्ट्रसँग सहयोग मागिसकिएको र आवश्यक सामग्री ल्याउने प्रक्रिया अघि बढिरहेको जानकारी पनि राष्ट्रपतिलाई दिइएको थियो।
बाढीबाट क्षतिग्रस्त अन्य पूर्वाधारको पुनर्निर्माणका योजनासमेत सरकारले अघि बढाइरहेको मन्त्रीहरूले बताएका थिए।
छलफलमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी थिए।
राष्ट्रपति पौडेलले राहत र अस्थायी आवासको व्यवस्थासँगै सडक यातायात पुनः सञ्चालन तथा दीर्घकालीन पुनर्निर्माणलाई समन्वयात्मक रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।









Facebook Comments