
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
बीपी जयन्तीका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले सिंहदरबार, अदालतलगायत राज्यका महत्वपूर्ण संरचनामा भएको आगजनी र तोडफोडबारे अहिलेसम्म प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीको पहिचान तत्काल गर्नुपर्ने बताए। त्यति ठूलो राज्य संयन्त्र एकाएक कसरी निष्क्रिय बन्न पुग्यो भन्ने विषयमा समेत गहिरो अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।
‘सिंहदरबार जलाउने को थियो? अदालत जलाउने को थियो? त्यो दिन यति ठूलो ध्वंस गराउने को थियो र कसले उकास्यो?’ थापाले प्रश्न गर्दै भने, ‘किन आज कोही बोल्दैन? कसैले यसको जिम्मेवारी लिँदैन भने जवाफदेहिता कसले लिने?’
थापाले अपराधमा संलग्न व्यक्तिले पछि माफी माग्दैमा कानुनी उन्मुक्ति पाउन नहुने बताए। कानुन उल्लंघन गर्ने जोसुकै भए पनि उसले कानुनअनुसार सजाय भोग्नुपर्ने उनको धारणा थियो।
दण्डहीनताको प्रवृत्तिले समाजलाई थप असुरक्षित बनाउने चेतावनी दिँदै उनले अपराधमा संलग्नलाई उन्मुक्ति दिने परिपाटी अन्त्य गर्नुपर्ने बताए।
भदौ २३ को प्रतिवेदन सार्वजनिक गर्न माग
भदौ २४ गतेका घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता सरकारले निर्वाचनपछि व्यक्त गरे पनि त्यसअनुसार प्रक्रिया अघि नबढेको थापाको आरोप छ।
उनले भदौ २४ को घटनाबारे अनुसन्धान कहाँ पुगेको हो भन्नेबारे सरकारसँग जवाफ मागेका छन्। साथै भदौ २३ गतेका घटनासम्बन्धी अध्ययन पूरा भइसकेको भए त्यसको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने उनले बताए।
थापाले भदौ २३ गते भएको दमनको जिम्मेवारी निर्धारण गर्नुपर्ने, हिंसा भड्काउन भूमिका खेल्नेहरूको पहिचान गर्नुपर्ने र भदौ २४ गते भएको आगजनी तथा विध्वंसमा संलग्नलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले राज्यले अपराधमा संलग्नलाई कारबाही नगरे दण्डहीनता झन् संस्थागत हुने चेतावनी दिए। आज अरू कोही पीडित भए पनि अपराधीलाई उन्मुक्ति दिइए भोलि त्यही अवस्था जोसुकैमाथि दोहोरिन सक्ने उनको भनाइ थियो।
आगजनी र विध्वंसमा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही अघि बढाएर विधिको शासनप्रति राज्यको प्रतिबद्धता व्यवहारमै देखाउन थापाले सरकारको ध्यानाकर्षण गराएका छन्।









Facebook Comments