काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले २०८२ साल भदौ २४ गते बालकोटस्थित निवासमा भएको आगजनीको उद्देश्य घर र सम्पत्ति नष्ट गर्नुमा मात्रै सीमित नरहेको दाबी गरेकी छन्।

बुधबार बालकोटस्थित ओली निवासमा आयोजित कार्यक्रममा शाक्यले आफ्नो स्मृतिमा लेखिएको पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक गर्दै उक्त घटनासँग जोडिएका अनुभव र पीडा सुनाएकी हुन्।

ad

पुस्तकमा आगजनीका क्रममा आफूले भोगेका अनुभव, त्यसबाट भएको क्षति तथा त्यसपछि उत्पन्न मानसिक पीडालाई समेटिएको शाक्यले बताइन्। उनले उक्त घटनामा आफूहरू बाँच्न सफल भएको उल्लेख गर्दै ओलीलाई समेत स्थायी रूपमा हटाउने उद्देश्य रहेको आफूलाई लागेको बताइन्।

‘हाम्रो घर र सम्पत्ति मात्र जलाउने योजना थिएन होला। मूल उद्देश्य केपी सरलाई नै सधैँका लागि पन्छाउनु हुनुपर्छ भन्ने मेरो बुझाइ छ,’ शाक्यले भनिन्, ‘तर हामी बाँच्न सफल भयौँ।’

गत वर्ष नै आफूहरूको ज्यान गएको भए अहिले मृत्युको वार्षिकी मनाइरहेको अवस्था हुने उनको भनाइ थियो।

शाक्यले आफूहरूमाथि विभिन्न आरोप लगाएर मानसिक दबाब सिर्जना गर्ने क्रम अझै जारी रहेको गुनासोसमेत गरिन्। कुनै कसुर नगरेका आफूहरूलाई अपराधीजस्तो चित्रित गर्ने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

देशको सेवा गर्ने उद्देश्यका साथ आफूहरू अघि बढिरहेको भए पनि निरन्तर आरोप र लाञ्छना खेप्नुपरेको उनले बताइन्।

पुस्तकालय बनाउने सपना पनि अधुरै

शाक्यले आफूहरूसँग रहेका विभिन्न विषयका हजारौँ पुस्तकलाई व्यवस्थित गरेर नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालय स्थापना गर्ने योजना रहेको बताइन्।

बालकोटस्थित निवासमा भएको आगजनीमा ती पुस्तकसहित आफूले जोगाएर राखेका धेरै सामग्री नष्ट भएको उल्लेख गर्दै उनले पुस्तकालय स्थापना गर्ने सपना पनि अधुरो बनेको बताइन्।

‘विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरेर नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालय छोडेर जाने इच्छा थियो,’ उनले भनिन्, ‘तर आज ती मेरा सबै सपना खरानी भएका छन्।’

‘सपनाको भग्नावशेष’मा बालकोटको घरसँग जोडिएका व्यक्तिगत स्मृति, आगजनीपछि आफूले भोगेको पीडा र त्यस घटनाले आफ्नो जीवनमा पारेको प्रभावलाई समेटिएको शाक्यले बताएकी छन्।