काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी एकताका विषयमा व्यवहारिक पहल हुन नसकेपछि १५औँ महाधिवेशनको तयारी अघि बढाउनुपर्ने अवस्था आएको बताएका छन्।

भक्तपुरमा बीपी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महतले पार्टी एकताको पक्षमा आफूहरू रहे पनि त्यसका लागि दुवै पक्षबाट प्रयास आवश्यक हुने बताए। संस्थापन पक्षबाट एकताका लागि ठोस पहल नभएको र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मात्रै एकताको चर्चा भइरहेको उनको भनाइ थियो।

ad

उनले एकताका लागि आफूहरूले पटक–पटक पहल गरे पनि त्यसले ठोस परिणाम दिन नसकेको बताए। अब पार्टीको सांगठनिक गतिविधि रोक्न नहुने भन्दै महतले आफ्नो अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

‘हामी एकताको कहिल्यै विपक्षमा छैनौँ। तर हामीले भन्दैमा मात्रै केही लागेन,’ उनले भने, ‘एक हातले मात्र ताली बज्दैन। त्यसैले आफ्नो अभियान छाडेर बस्न सकिँदैन।’

महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। पार्टीको नियमित महाधिवेशन नै कांग्रेसको संस्थागत निरन्तरताका लागि आवश्यक रहेको उनको भनाइ थियो।

उनले १५औँ महाधिवेशनका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी रहेको जानकारी दिए।

कतिपय कार्यकर्तामा छुट्टै पार्टी निर्माण गर्न लागिएको भन्ने भ्रम रहेको उल्लेख गर्दै महतले आफूहरू बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसकै अभियानमा रहेको स्पष्ट पारे।

राष्ट्रिय सम्मेलनबाटै आफूहरूले पार्टी एकताको पक्षमा निर्णय गरिसकेको भए पनि त्यसअनुसार व्यवहारमा पहल नभएको उनले बताए।

‘एकताको पक्षमा छौँ भनेर राष्ट्रिय सम्मेलनबाटै पारित गरेका छौँ। तर वास्तविक रूपमा एकता देखिएको छैन। चर्चा सामाजिक सञ्जाल र मिडियामा मात्रै सीमित छ,’ महतले भने।

एकता हुने आशामा मात्रै पार्टीको संगठनात्मक गतिविधि रोक्न नसकिने भन्दै उनले एकता नभएको अवस्थामा महाधिवेशनका लागि कांग्रेस तयारी अवस्थामा रहनुपर्ने बताए।