
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु तथा विपद्को संकटबारे विश्वको ध्यानाकर्षण गराउन नेपालले अन्तर्राष्ट्रिय नेतृत्व लिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले हिमालयको भविष्य र हिमाली समुदायको सुरक्षालाई अन्तर्राष्ट्रिय बहसको विषय बनाउन नेपालले पहल गर्नुपर्ने धारणा राखे। उनका अनुसार विश्वका विभिन्न मुलुकका संसद्मा हिमालय संरक्षणबारे बहस सिर्जना गर्न सके जलवायु न्यायका लागि दबाब बढाउन सकिन्छ।
लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव अघि सारे। त्यसका लागि नेपालले विश्वका जनप्रतिनिधिमार्फत सम्बन्धित सरकारलाई हिमालय संरक्षण र हिमाली समुदायको सुरक्षाका विषयमा जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो।
उनले हिमाली क्षेत्रमा जलवायु अनुकूलनका कार्यक्रमका लागि ग्रिन क्लाइमेट फण्डबाट सहज र विशेष वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने बताए। दक्षिण एसियाली सहकार्यको माध्यमबाट हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक आदानप्रदान तथा सीमा-पार प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको जीवन, जीविकोपार्जन र भविष्य सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको लामिछानेले बताए। जलवायुजन्य हानि तथा क्षतिको सम्बोधनका लागि ‘फण्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’बाट न्यायोचित सहयोग प्राप्त गर्ने दिशामा पनि नेपालले पहल गर्नुपर्ने उनको धारणा थियो।
लामिछानेले संघीय संसद्का दुवै सदनबाट हिमाली जलवायु तथा विपद् आपत्कालसम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने प्रस्तावसमेत राखे।
उनले जलवायु न्यायका विषयमा विश्वका केही सरकार अझै उदार बन्न नसकेको र शक्तिशाली राष्ट्रहरूले जलवायु संकटमा आफ्नो ऐतिहासिक तथा नैतिक जिम्मेवारी स्वीकार गर्न आनाकानी गरिरहेको बताए। त्यस्ता मुलुकमाथि दबाब सिर्जना गर्न विश्वभरका संसद् र जनप्रतिनिधिको सहयोग लिन सकिने उनको भनाइ थियो।
‘विपत्तिलाई राजनीतिक लाभहानिको विषय नबनाऔँ’
लामिछानेले भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिलाई राजनीतिक लाभहानिको विषय बनाउन नहुने बताए। राजनीतिक दल र विचार फरक भए पनि देश र जनताप्रतिको दायित्व साझा रहेको उल्लेख गर्दै उनले विपद्को समयमा राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने धारणा राखे।
उनले अहिलेको आवश्यकता एकअर्कामाथि आरोप लगाउनु नभई जलवायु संकटविरुद्ध साझा राष्ट्रिय आवाज निर्माण गर्नु रहेको बताए।
लामिछानेका अनुसार भोटेकोशीको विपत्ति केवल एउटा प्राकृतिक घटना मात्र नभई जलवायु परिवर्तनका कारण गहिरिँदै गएको संकटको परिणामका रूपमा पनि हेर्न आवश्यक छ। त्यसैले राहत र पुनर्निर्माणमा मात्रै सीमित नभई विपत्तिको मूल कारण पहिचान गरी दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए।
‘जलवायु न्यायको लडाइँ’ सजिलो नभए पनि यसबाट पछि हट्ने अवस्था नरहेको उल्लेख गर्दै लामिछानेले विपत्तिबाट भएको क्षतिलाई भविष्यका लागि थप तयारी गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। गुमाएका नागरिकको पीडालाई शक्ति र उनीहरूको बलिदानलाई राष्ट्रिय संकल्पमा बदल्नुपर्ने उनको भनाइ थियो।









Facebook Comments