
काठमाडौं । नेपाली कांग्रेसले विपद्का घटनामा हराइरहेका नागरिकको खोजी तथा उद्धारलाई तीव्र र प्रभावकारी बनाउन सरकारसँग थप जनशक्ति तथा स्रोतसाधन परिचालन गर्न माग गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले विपद् प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी दक्ष जनशक्ति, आधुनिक प्रविधि र पर्याप्त उद्धार सामग्री परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले संकटको समयमा सरकारको प्राथमिकता सत्ता संरक्षण नभई नागरिकको जीवन रक्षा हुनुपर्ने बताइन्। विपद्का बेला राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिनुपर्ने भन्दै उनले उद्धार कार्यमा कुनै ढिलाइ नगर्न सरकारलाई आग्रह गरिन्।
थापाले रसुवामा विनाशकारी बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धार अभियानले अपेक्षित गति लिन नसकेको बताइन्। उनका अनुसार रसुवाको विपद् एउटा सामान्य प्राकृतिक घटनाका रूपमा मात्र लिन नमिल्ने र यसले ठूलो संख्यामा परिवारको जीवन प्रभावित पारेकाले राष्ट्रिय संकटका रूपमा सम्बोधन गर्न आवश्यक छ।
रसुवाको घटनापछि दैलेखसहित कर्णाली क्षेत्रका विभिन्न स्थानमा समेत धेरै नागरिक सम्पर्कविहीन रहेको उल्लेख गर्दै थापाले उनीहरूको अवस्थाबारे तत्काल यथार्थ विवरण सार्वजनिक गर्न माग गरिन्।
सम्पर्कविहीन नागरिकको विवरण अद्यावधिक गरी सम्बन्धित परिवारलाई सही र भरपर्दो सूचना उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्। उनले खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन राज्यका सबै उपलब्ध संयन्त्र परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।









Facebook Comments