काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनको उद्देश्य सरकार परिवर्तनभन्दा पनि राज्य सञ्चालनको शैली र राजनीतिक संस्कारमा परिवर्तन ल्याउनु रहेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा धारणा राख्दै केसीले जेनजी आन्दोलन कुनै राजनीतिक दल वा समूह विशेषको पक्षमा नभएको दाबी गरे। उनका अनुसार आन्दोलनको मुख्य मर्म दण्डहीनता र विधिविहीनताको अन्त्य गर्दै राज्य सञ्चालनमा नयाँ संस्कार स्थापित गर्नु थियो।

ad

केसीले जेनजी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्ने दिशामा मुलुक अघि बढ्न सकेको छ कि छैन भन्ने विषयमा राजनीतिक नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

उनले भने, “जुन राज्य र समाज जेनजी पुस्ताले परिकल्पना गरेको थियो, वास्तवमा हामीले त्यो पूरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ।”

सांसद केसीले पछिल्लो समय बजारमा मल र ग्यासको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए। मुलुक प्राकृतिक विपद्को चपेटामा समेत परिरहेको उल्लेख गर्दै उनले संकटको समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे।

उनका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकको उद्धारमा सरकारले केही काम गरे पनि अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा थप प्रभावकारी प्रयास आवश्यक रहेको उनले बताए।

बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी देखिए पनि सरकारले गरेको प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने केसीको भनाइ थियो।

प्राकृतिक विपद् र दैनिक उपभोग्य वस्तुको अभावजस्ता समस्याले नागरिकलाई प्रभावित पारिरहेका बेला सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एक ठाउँमा उभिएर समाधान खोज्नुपर्नेमा उनले जोड दिए।