
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अघिल्लो बर्षको भदौ २३ र २४ दुवै दिन अपराध गर्नेले सजाय पाउनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनको एक वर्ष पुगेकोमा आज एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले जेनजी आन्दोलन घटनामा छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न सकिएन भने यो समाज कहिल्यै न्यायपूर्ण बन्न नसक्ने बताए । भदौ २४ गते आवेग र आक्रोश प्रयोग गरेर प्रायोजित हिंसा भयो। को थियो सिंहदरबार र अदालत जलाउने, त्यत्रो ठूलो ध्वंश गराउने, उकास्ने र योजना बनाउने ? आज कोही चुक्क बोल्दैन, कसैले जिम्मा लिँदैन। यसको जबाफदेहीता कसैले लिनुपर्दैन ? कसैले सजाय पाउनुपर्दैन ?’ उनले भने ।
उनले भदौ २३ र २४ गते घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने र दोषीहरूमाथि राज्यले कारबाही अघि बढाउनुपर्ने बताए।
‘भदौ २३ युवाले आक्रोश र विद्रोह गरेको दिन थियो, राज्यको दमन भएको र शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएर उक्साउने काम भएको थियो र त्यो उक्साउने को थिए ? तिनको पहिचान हुनुपर्छ। दमन गर्नेले सजाय पाउनुपर्छ,’ उनले भने। सरकारले भदौ २३ को घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म ठोस प्रगति नभएकोमा सभापति थापाले प्रश्न उठाए ।
‘सरकारले प्रमिस गरेको थियो कि हामी २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्छौँ। तर, त्यो अनुसन्धान अहिले कहाँ पुग्यो ? कहाँ हरायो छानबिन समिति ?’ सभापति थापाले सरकारलाई गम्भीर भएर जवाफ दिन आग्रह समेत गरे ।
सभापति थापाले दण्डहीनताको अन्त्य गर्न र दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् ।









Facebook Comments