
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका सहिद तथा घाइतेहरूको सम्झनामा आयोजित कार्यक्रमको स्वरूप र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित स्मृति कार्यक्रम देखेपछि आफू 'अवाक' भएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छन्। उक्त कार्यक्रममा निर्माण गरिएको मञ्च, विवादित धर्मगुरुहरूको उपस्थिति र त्यसमा गृहमन्त्री सुधन गुरुङको सहभागिताप्रति आपत्ति जनाउँदै उनले यसले सहिद परिवार तथा घाइतेहरूको अपमान भएको टिप्पणी गरेकी छन्।
आफ्ना सन्तान गुमाएका परिवार र शरीरमा आन्दोलनका घाउ बोकेकाहरूको पीडालाई यस्ता कार्यक्रमले सम्बोधन गर्न नसकेको उनको भनाइ छ। गृहमन्त्री गुरुङले स्मृति दिवसकै कार्यक्रममा केही सञ्चारकर्मीहरूलाई लक्षित गर्दै चेतावनीको भाषा बोलेको सन्दर्भलाई जोड्दै धितालले हिजोको आन्दोलन र आजको सत्ताको व्यवहारबीच ठूलो विरोधाभास देखिएको बताएकी छन्।
हिजो प्रेस स्वतन्त्रता, निरंकुशताविरुद्ध र राज्यको जवाफदेहिताका लागि सडकमा लडेको स्मरण गराउँदै उनले अहिले सत्तामा पुगेपछि आलोचकहरूसँग धम्कीको भाषा बोल्नु र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनु गम्भीर विषय भएको उल्लेख गरिन्। ‘त्योबेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्यो भनेर सडकमा गएका थियौँ हामी। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ?’ धितालले प्रश्न गरेकी छन्।
समाजले पछिल्लो एक वर्षमा अरूको भावना र पीडा महसुस गर्ने क्षमता गुमाउँदै गएको औंल्याउँदै उनले नेतृत्व वर्गले गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिइन्। सहिदहरूको बलिदान र आन्दोलनको मर्मलाई कुल्चिँदै ‘सुध्रिनु अरूहरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने?’ भन्ने प्रवृत्तिको विकास हुनु दुःखद भएको भन्दै उनले आफ्नै सरकारलाई कडा प्रश्न गरेकी छन्।









Facebook Comments