काठमाडौं । नेपाली कांग्रेसले दुई चरणमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै संस्थापनइतर पक्ष वा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको आगामी कदमलाई चासोका साथ हेरिएको छ। 

पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले औपचारिक रूपमा असन्तुष्टि जनाउँदै समानान्तर तयारी तीव्र पारेको छ।

ad

पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा '१५ औं महाधिवेशन तयारी समिति' गठन गरेर चुनदेवी सम्पर्क कार्यालयबाट सक्रिय रहेको यो समूहले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ। 

सभापति गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले चालेको एकलौटी कदम र विशेष महाधिवेशनपछिको असन्तुष्टिलाई सम्बोधन नगरिएको भन्दै देउवा पक्षले नियमित महाधिवेशनको पक्षमा उभिने स्पष्ट पारेको छ। उनीहरू १४औं महाधिवेशनबाट निर्वाचित साथीहरूको स्वाभिमानको रक्षा र पार्टीको विधानसम्मत प्रक्रिया अपरिहार्य रहेको जिकिर गर्दै आएका छन्।

यद्यपि, पार्टीभित्र पूर्ण विभाजन हुन नदिन र एकताको सुत्रमा बाँध्नका लागि अनौपचारिक संवादका प्रयासहरू पनि भित्रभित्रै भइरहेका छन्। सभापति थापाले असन्तुष्ट नेताहरूसँग संवादको प्रयास गरे पनि शीर्ष तहमा ठोस समझदारी बनिसकेको छैन। 

सर्वोच्च अदालतले महाधिवेशन रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश नदिएका कारण कानुनी रूपमा बाटो खुल्ला भए पनि देउवा पक्षले आफ्नो अडान कायम राख्दै छुट्टै गतिविधिलाई निरन्तरता दिने वा अन्तिम समयमा कसरी प्रस्तुत हुने भन्ने विषयले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने देखिएको छ।